जुगल भ्रमण वर्ष २०८३ को मन्त्री पौडेलद्वारा भव्य उद्घाटन, पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको प्रतिबद्धता

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति तथा पहिचानको संरक्षण र आर्थिक समृद्धिको लक्ष्यसहित आयोजना गरिएको ‘जुगल भ्रमण वर्ष २०८३’ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा श्री रत्नराज्य माध्यमिक विद्यालय, चनौटेको प्राङ्गणमा आयोजित विशेष समारोहबीच भ्रमण वर्षको उद्घाटन गरिएको हो।

कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत जुगल क्षेत्रको प्राकृतिक सौन्दर्य, जुगल हिमाल, सांस्कृतिक विविधता, मौलिक परम्परा र स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रमण वर्षअन्तर्गत जुगल गाउँपालिकाका सबै वडालाई समेट्दै स्थानीय संस्कृति, कला, परम्परा र पहिचान झल्कने विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जुगल हिमालसहित यस क्षेत्रका सम्भावित पर्यटकीय गन्तव्यहरूको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा बागमती प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सकिने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जुगलको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्री पौडेलले पर्यटन विकासलाई स्थानीय नागरिकको रोजगारी र आयआर्जनसँग जोड्नुपर्ने उल्लेख गर्दै रैथाने सीप, श्रम र प्रविधिको समुचित प्रयोगमार्फत स्थानीय स्तरमै स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। पर्यटन प्रवर्द्धनबाट स्थानीय उत्पादन, मौलिक संस्कृति र परम्पराको संरक्षण हुनुका साथै स्थानीय नागरिकको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो।

त्यसैगरी, उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै रत्नराज्य माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बाढीबाट प्रभावित बालबालिकाको शिक्षाप्रति प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री पौडेलले विपद्बाट प्रभावित बालबालिकाको भविष्य सुरक्षित गर्न उनीहरूको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

जुगल भ्रमण वर्ष २०८३ लाई केवल पर्यटन प्रवर्द्धनको अभियानमा सीमित नराखी स्थानीय पहिचानको संरक्षण, रोजगारी सिर्जना, आर्थिक गतिविधिको विस्तार र समग्र क्षेत्रको समृद्धिसँग जोड्ने लक्ष्य राखिएको छ। यस अभियानले जुगल क्षेत्रका पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय समुदायको सहभागितामा दिगो पर्यटन विकासको आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.