बिबेक कुमार मेहता
ठेउवा (Coracias benghalensis), जसलाई नेपाल र भारतमा ‘नीलकण्ठ’ (भगवान शिवको प्रतीक) को रूपमा पूजिन्छ, अहिले गम्भीर अवस्थाबाट गुज्रिरहेको छ।जसले विशेषगरी नेपालको मिथिलाअञ्चलमा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको छ। यसलाई हिन्दु धर्ममा अत्यन्तै पवित्र मानिन्छ र बिशेष रुपमा दशहरामा (दशैंको टिकाको दिन) यसको दर्शनलाई शुभ संकेतका रुपमा लिने गरिन्छ। आईयूसीएनको रातो सूची (२०२५) अनुसार, यो प्रजाति पहिले ‘कम चासो’ (Least Concern) मा थियो भने अहिले यसलाई निकट सङ्कटापन्न(Near Threatened – NT) श्रेणीमा राखिएको छ।

हिन्दू परम्परा अनुसार भगवान शिवको प्रतिरुप मानेर नीलकण्ठ चराको नामले पुजिन्छ भने रामायणमा रामले रावणको वध गर्न अगावै यस चराको दर्शन गरेकाले युद्धमा जित हासिल गरेका किंवदन्ती प्रचलित भएकोले समेत यसलाई संस्कृतमा उपराजित भनेर चिनिने गरिन्छ। यसरी दशहराको दिन त्यही चराको दर्शन गरेकाले भगवान रामले मिथिलाकी चेली जानकी अर्थात् माता सीतालाई सकुशल फर्काउन सफल भएकोले दशहराको दिनमा यस चराको दर्शन पाउन सके सौभाग्य खुलेर सफलता पाउन सकिने र आउने दिनहरु शुभ हुने जनमानसमा विश्वास चलिआएको छ।
संरचनात्मक रूपमा, यो ३०–३४ सेन्टिमिटर लामो, बाक्लो शरीर भएको चरो हो जुन बस्दा मट्ट्याउँ खैरो देखिन्छ, तर उडान भर्दा यसको पखेटा र पुच्छर टर्क्वाज, नीलो तथा बैजनी रंगमा चम्किन्छ। भौगोलिक रूपमा, यो चरो इराकदेखि भारतीय उपमहाद्वीप हुँदै श्रीलंका सम्म पाइन्छ, र नेपालमा यसको स्थिति स्थायी बासिन्दा (Resident) को रूपमा छ, जुन तराईको खुला खेत, चरन क्षेत्र र रूख भएका जंगलहरूमा १५०० मिटर उचाइसम्म प्रजनन गर्छ। यो चरो किसानको साँच्चिकै मित्र हो, किनभने यसले ठूलो मात्रामा टिटो, फट्याङ्ग्रा र बालीका कीरा खाएर प्राकृतिक कीरा नियन्त्रण गर्छ। तर, यसको जनसंख्या घट्नुका तीन प्रमुख कारणहरू छन् : पहिलो, अत्याधिक विषादी प्रयोगले कीराहरूको आहार नै सकिँदै गएको छ; दोस्रो, तीव्र सहरीकरण र पुराना रूखहरू कटानले गुँड बनाउने ठाउँ हराउँदै गएको छ; र तेस्रो, चाडपर्वहरूमा अवैध रूपमा यी चराहरू समातेर ‘शुभ दर्शन’ भन्दै बेच्ने प्रवृत्ति।विडम्बना, यसको गहिरो सांस्कृतिक मूल्य छ ,यसलाई भगवान शिवको प्रत्यक्ष प्रतीक मानिन्छ र यो भारतको ओडिशा तथा तेलंगनाको राज्य चरा हो तर यही श्रद्धा व्यापार र वासस्थान विनाश रोक्न पर्याप्त हुन सकेको छैन।
नीलकण्ठ बचाउनको लागि हामीले पाँच सरल तर प्रभावकारी उपायहरू अपनाउन सक्छौं। पहिलो, खेतबारीका पुराना, प्वाल परेका रूखहरू नकाटौं किनभने यिनै रूखका प्वालहरूमा नीलकण्ठले गुँड बनाएर बच्चा कोरल्छन्, एउटा यस्तै रूखले दर्जनौं नीलकण्ठलाई आश्रय दिन्छ। दोस्रो, विषादीको प्रयोग घटाऔं; एउटा नीलकण्ठले दिनभरिमा सयौं टिटो, फट्याङ्ग्रा र भुसुना खाएर तपाईंको बाली बचाउँछ, तर विषादीले ती कीरासँगै नीलकण्ठको खाना नै मारिदिन्छ । तेस्रो, गाउँघर र खेतबारीको कुनामा काठका साना गुँड बाकसहरू (nest boxes) झुण्ड्याऔं, विशेष गरी नीलो रङ्गको बाकसले नीलकण्ठलाई आकर्षित गर्छ। चौथो, चाडपर्वहरूमा सचेत बनौं ।यदि कसैले ‘शुभ दर्शन’ भन्दै नीलकण्ठ बेच्न वा समात्न खोज्यो भने त्यो अवैध हो, प्रहरी र वन कार्यालयमा खबर गरौं, किन्ने र समात्ने दुवै काम ठूलो पाप हो। पाँचौं, आफ्नो समुदायमा जागरण फैलाऔं। यी साना कदमहरूले नै नीलकण्ठलाई हाम्रा खेतबारी र आकाशमा सधैं नीलो बिजुली झैं चम्किरहने वातावरण बनाउनेछन्।
https://shorturl.fm/4eV6n
https://shorturl.fm/9fvEs
https://shorturl.fm/bDRgH
https://shorturl.fm/O8cpN
https://shorturl.fm/9eczm