नेकपा माओबादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालको देश ब्यापी रुपमा संचालन भएको श्रम तथा उत्पादनमा वाईसीएल दुई महिने अभियान अन्तर्गत मनहरीमा पनि औपचारिक रुपमा श्रम अभियान शुरु भएकोछ ।
वाईसीएल नेपाल मकवानपुर वाईसीएल मनहरी गाउँकमिटी र वाईसीएल नेपाल मनहरी ५ नम्बर वडाको संयुक्त आयोजनामा मनहरी गाउपालिका वडा नं ५ र ९ नम्बर जोड्ने जैसिङ्ग झोलुङ्गे पुल ओर्लने बाटोमा सिँढी निर्माण कार्य सम्पन्न गरिएको हो ।शनिबारको दिन पारेर श्रमदान अभियानलाई वाईसीएल मनहरीले अभियानलाई मुर्तरुप दिईएको हो ।
दैनिक हजारौंको संख्यामा आवतजावत गर्ने सो बाटोमा ब्यबस्थित र सुरक्षित नभएपछी वाईसीएल श्रम तथा उत्पादन कार्यक्रम मार्फत उक्त कार्य सम्पन्न गरिएको हो । उकालो र साघुरो बाटोलाई फराकिलो र ब्यबस्थित बाटो बने सङ्गै वडा नम्बर ५ का स्थानिय जनता मात्र नभै पछिल्लो समयमा भाईरल पुलको रुपमा चिनिने झोलुङ्गे पुलमा आउने हज्जारौं पैदल यात्रीहरुलाई सहजता हुने बिश्वास लिईएकोछ ।
वाईसीएल नेपाल केन्द्रिय कमिटी सदस्य तथा मनहरी गाउँपालिका वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष दीपेन्द्र अधिकारीले वाईसीएल नेपाल जनताको अत्यावश्यक कुराको सम्बोधन गर्न लागि पर्ने बताउनुभयो । वाईसीएल नेपाल मकवानपुरले धेरै नै सराहनीय कार्य गर्दै आईरहेको अवस्थामा सामुदायिक सम्पतिको संरक्षण र सम्बर्द्धन संगसङ्गै दिनदुखीहरुका लागी बस्ने घर निर्माणमा वाईसीएल लागि परेको समेत जानकारी दिनुभयो ।
नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा मकवानपुर पार्टी कमिटी सचिव वीर बहादुर घलान ( ज्वाला) ले वास्तविक श्रम के हो भन्ने कुराको आभाष दिलाउने अभियानमा वाईसीएल नेपाल लागेको र पार्टिले हिजो पनि श्रमदानलाई प्राथमिकता दिएको , आज पनि छ र समाजबादको यात्रामा रहेको हाम्रो यात्रामा भोलि पनि रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यस्तै पार्टी प्रदेश कमिटी सचिवालय ससस्य एबम जिसस मकवानपुर प्रमुख ललित घलानले श्रम र युवा शक्तीलाई मिलाउन सक्यौ भने समृद्धिको यात्रामा समाज अघि बढ्ने भन्दै श्रमदान अत्यावश्यक भैसकेको बताउनुभयो ।
सिँढी निर्माणमा आवश्यक पर्ने सामाग्री वाईसीएल नेपाल मनहरीले र वडा कमिटी आफैले जोहो गर्दै राज्यको शून्य लागतमा सम्रचना निर्माण गरिएको हो ।
बिहान ७ बजे देखि निर्माण कार्यमा खटिएको श्रमदाताहरुले दिउँसो ४ बजेसम्ममा सिँढी निर्माण कार्य सम्पन्न गरेको हो ।
श्रमदान अभियानमा पार्टीका नेतृत्व, वाइसीएल नेता, बिधार्थी ,पत्रकार एबम विभिन्न जनबर्गीए सङ्गठनका नेतृत्वहरुको सहभागिता रहेको थियो । यस्तै पार्टी संगठनबाट निर्वाचित जनप्रतिनिधिहरु पालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा), मनहरी २ नम्बर वडाका निर्वाचित वडा अध्यक्ष राजकुमार पाख्रिन , ४ नम्बर वडाका निर्वाचित वडा अध्यक्ष प्रकाश थापा र ५ नम्बर वडाका निर्वाचित वडा अध्यक्ष दीपेन्द्र अधिकारीको समेत सहभागिता रहेको थियो।
श्रमदानमा जोडिएका वाईसीएल टोलिले श्रमदानको साथसाथै उत्पादनमा समेत जोड दिएर अगाडि बढ्न पाईयो भने युवाहरु बिदेशीनुनपर्ने भन्दै पार्टी नेतृत्वले त्यता तिर पनि ध्यान दिन आवश्यक रहेको बताए । श्रमदान शिविरमा वाईसीएल नेपाल मकवानपुर जिल्ला कमिटी,मनहरी, राक्सिराङ्ग, बकैया र बागमती गाउँ कमिटिमा आवद्ध वाईसीएल नेता तथा कार्यकर्ता र पार्टीका नेताहरु गरि झण्डै एक सय भन्दा बढिको सहभागिता रहेको थियो ।