मनहरी गाउँपालिकामा सञ्चालन भैरहेको मनहरी कप फुटबल प्रतियोगितामा ४ र ९ नम्बर वडा सेमिफाइनल चरणमा प्रवेश गरेको छ । खेलकुद विकास समिति मनहरीको आयोजनामा जारी मनहरी खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत विभिन्न ६ विधामा खेलकुदको प्रतिस्पर्धात्मक भिडन्त भैरहेको छ ।
सोही क्रममा फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा ४ नम्बरले ८ नम्बर वडालाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल भिडन्त पक्का गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि सिधै टाइब्रेकरमार्फत सेमिफाइनल पुग्ने टोलीको छिनोफानो गरिएको थियो । टाइब्रेकरमा ४ नम्बर वडा ५–४ गोलले विजयी भएको हो । ४ नम्बर वडाको पाँचै प्रहार गोलमा परिणत हुँदा ८ नम्बर वडाका एक प्रहारलाई गोलरक्षक धावा रुम्बाले रोकेका थिए । खेलको म्यान अफ द म्याच ४ नम्बर वडाका गोलरक्षक रुम्बा घोषित भए ।
यस्तै आइतबारै भएको अर्को खेलमा ९ नम्बरले २ नम्बर वडालाई ३–० ले हरायो । खेलको २६ औं मिनेटमा सविन गिरीको गोलमार्फत ९ ले अग्रता लिएको थियो । दोस्रो हाफमा ९ ले थप २ गोल थप्यो । दुवै गोल गौरव मोक्तानले गरेका हुन् । मोक्तान नै खेलको म्यान अफ द म्याच घोषित भए । शनिबारबाट फुटबल प्रतियोगिता सुरु भएको हो ।
शनिबार पनि दुइ खेल भएको थियो । पहिलो दिनको खेलमा ७ ले ५ नम्बर वडालाई र ६ ले ३ नम्बर वडालाई हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ । ७ ले ५ लाई ६–० र ६ ले ३ लाई ३–० गोलले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । यही २८ गतेसम्म सञ्चालन हुने मनहरी कप फुटबल प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्टलाई समेत नगद र ट्रफीको व्यवस्था रहेको आयोजकले जनाएको छ । फुटबलमा १ नम्बर बाहेक ८ वटा वडाको सहभागिता रहेको छ । मनहरी गाउँपालिकामा यसअघि छुट्टाछुट्टै अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै आएकोमा यस वर्ष खेलकुद तथा व्यापार महोत्सवको आयोजना गरी विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता गरिएको हो । सोमबारबाट वडास्तरीय मनहरी कप भलिबल प्रतियोगिता समेत सुरु हुँदैछ । खेलकुद विकास समितिको आयोजनामा भैरहेको महोत्सवको व्यवस्थापक एभरेष्ट इभेन्ट इभेन्ट म्यानेजमेन्ट र संरक्षक मनहरी गाउँपालिकाको कार्यालय रहेको छ ।