गोदावरी, ललितपुर | २३ असोज २०८३
रसुवा लगायतका जिल्लामा भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको अस्थायी आवास निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित बृहत् सांगीतिक तथा सांस्कृतिक गोदावरी महोत्सव–२०८३ को बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बाढीबाट अभिभावक गुमाएका बालबालिकाको कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने गरी तयारी भइरहेको बताउनुभयो। बालबालिकालाई आवासीय विद्यालयमा राखेर वा परिवारलाई मासिक राहत रकम उपलब्ध गराएर शिक्षामा सहयोग गर्ने उद्देश्यसहित प्रदेश मन्त्रिपरिषद्ले सम्बन्धित कार्यविधि तयार गरी कार्यान्वयनको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।
मन्त्री पौडेलले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा प्रदेश सरकारले गरेका प्रयासको चर्चा गर्दै अस्थायी आवास निर्माण र प्रभावित परिवारको जीवन पुनःस्थापनाका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाले समृद्ध गोदावरीको पर्यटन प्रवर्द्धनमा जोड दिँदै ऐतिहासिक १२ वर्षे मेला र धार्मिक धरोहरको संरक्षणले यस क्षेत्रको पहिचान र स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउने बताउनुभयो।
विभिन्न इन्टरटेनमेन्टको आयोजना तथा गोदावरी नगरपालिका वडा नं. ३ को सहयोगमा असोज २३ र २४ गते गोदावरी बसपार्कमा सञ्चालन हुने महोत्सवले विपद् प्रभावित परिवारलाई सहयोग जुटाउनुका साथै कला, संस्कृति, पर्यटन र सामाजिक उत्तरदायित्वको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।