मनहरीमा जारी प्रथम मनहरी खुल्ला क्रिकेटमा ई प्लानेट चितवन च्याम्पियन बनेकोछ । ई प्लानेटले टिम एभरेष्टलाई ३५ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मनहरी ७ रमौली स्थित प्रस्तावित मदन भण्डारी क्षेत्रीय रंगशालामा आज भएको फाईनलमा टिम एभरेष्ट हेटौंडाले टस जित्दै फिल्डिङ रोजेको थियो । टस हार्दै ब्याटिङ गरेको ई प्लानेटले ९ विकेटको क्षतिमा २० ओभरको समाप्तिमा २०४ रनको विशाल योगफल खडा गरेको थियो । २०४ रनको विशाल योगफल तयार गर्न टिमको तर्फबाट रिजन काफ्ले र सतिस यादवले क्रमशः ६९ रन र ५१ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको टिम एभरेष्टले १६.४ ओभरमा अल आउट हुँदै १७६ रनमा सिमित रह्यो । टिम एभरेष्टका लागि अहमेद राजाले २८ बलको सामना गर्दै ५७ रन जोड्दा अन्य खेलाडी भने सस्तैमा समेटिएका थिए।
शुरूवातमा आक्रामक ब्याटिङ गर्दै जित तर्फ लम्किएको टिम एभरेष्ट सम्हालिन नसक्दा हारको सिकार बन्न पुगेको थियो ।
ई प्लानेटको जितमा सागर बास्तोला र सतिश यादबले समान ३/३ विकेट लिएका थिए । भने टिम एभरेष्टका ईर्फान अलिले सर्वाधिक ३ विकेट लिएका थिए ।
जित सङ्गै ई प्लानेटले ट्रफी सहित नगद ३० हजार रुपैयाँ , मेडल र प्रमाणपत्र प्राप्त गरे । यता उपबिजेतमा सिमित टिम एभरेष्टले भने दोश्रो हुँदै १५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो । टिम एभरेष्टले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
फाईनल खेलको प्लेयर अफ द म्याच सतिश यादव घोषित भए यस्तै लायन्स अफ मनहरीका खेलाडी दीपेश भण्डारी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । ई प्लानेटका पवन सापकोटा बेष्ट ब्याटमान घोषित भए । उनले सर्वाधिक ९० रन बनाएका थिए । र बेष्ट बलर रोहित ठाकुर घोषित भए । बिधागत रुपमा उत्कृष्ट घोषणा भएका खेलाडीहरुलाई ट्रफी सहित नगद र अन्य उपहारको ब्यबस्था गरिएको थियो । यस्तै मनहरीमा हुने लाईभ कन्सर्टको लागि एक/ एक वटा प्रवेशको टिकट समेत प्रदान गरिएको थियो ।
मनहरीमा पहिलो पटक खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता संचालनको लागि मनहरी गाउँपालिका, रेवा ईन्टरनेशनल , साना किसान कृषि सहकारी सस्था , युनाईटेड ई. बोर्डिङ स्कुल, मेरिगोल्ड टाईनिटस बोर्डिङ, युनिभर्सल लर्निङ एकेडेमी , पशुपती सामुदायिक बन उपभोक्ता समूह , रेड एन्जल बोर्डिङ लगाएत अन्य संघ सस्थाको आर्थिक सहयोग रहेको आयोजकले जानकारी दिएकोछ ।
फाईनल खेल समारोहमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) को बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै मनहरी ७ नम्बर वडा सदस्य नवराज सुबेदी, साना किसान कृषि सहकारी सस्था मनहरी ८ कि अध्यक्ष बिमला कार्की , सोही सस्थाका प्रमुख प्रबन्धक ज्योती सुवेदी, युनाईटेड ई. बोर्डिङ स्कुलका प्रिन्सिपल बिष्णु प्रसाद सुवेदी , युनिक मह केन्द्रका प्रोप्राईटर शालिकराम बानियाँ , अनुज ढुङ्गाना लगाएत अन्यको आतिथ्यता रहेको थियो । माघ ५ गते देखि १० गते सम्म संचालन भएको प्रतियोगिताको समापनको सभाध्यक्षता क्लवका अध्यक्ष उदय बानियाँले गरेको थियो भने कार्यक्रमको सहजीकरण क्लबका सदस्य सनिश लोले गरेका थिए ।
