वैदेशिक रोजगारीका क्रममा मलेसियामा अलपत्र परेका मकवानपुरको मनहरी गाउँपालिका २ स्थाई घर भएका सूर्यबहादुर घलानलाई उद्दार गरी नेपाल ल्याईएकोछ । २ बर्ष अघि रोजगारको सिलसिलामा सक्सेस नेपाल म्यानपावर मार्फत मलेसिया गएका घलान १ बर्ष अघि सवारी दुर्घटनामा परि घाइते हुन पुगेको थियो । घलानलाई सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मकवानपुरको समन्वयमा उद्दार गरिएको हो ।
घलानको परिवारले बैशाख २१ गते मनहरी गाउँपालिकामा सन्चालित सामी कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता लक्ष्मी गोले थिङ मार्फत उद्दारको लागि पहल गरिदिन आग्रह गरेका थिए । घटनाको बारेमा जानकारी प्राप्त गरेसङ्गै जिप्रका मकवानपुर , वैदेशिक रोजगार बोर्ड, दूतावाससम्म नै अलपत्र अवस्थामा रहेका घलानको उद्दारको लागि पहल गरिएको गोलेले जानकारी दिनुभयो ।
साथै पासपोर्टको समयावधि समाप्त भएको कारण उद्दार कार्यमा केही कठिनाई आएता पनि उनको उद्दारको लागि सफल भएको समेत जानकारी दिनुभयो।
उनी मलेसियामा दयाँ इन्टेक सेक्युरिटी सर्भिस एसडीएन बिएचडी कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत थिए । परिवार श्रोतका अनुसार २०८१ चैत १० गते कामबाट डेरामा फर्कने क्रममा सवारी दुर्घटनामा परी उनी घाइते भएका थिए भने दुर्घटना पछि कम्पनीले औषधि उपचार नगरेको, घर पठाइदिन्छु भन्दै आलटाल गर्दै आईरहेको थियो । समयमै औषधि उपचार र घर फिर्तिको सहज बाताबरण नमिल्दा घलान शारीरिक तथा मानसिक रूपमा विचलित हुन बाध्य भएका थिए ।
मलेसियास्थित नेपाली दूतावाससँगको समन्वयमा २०८२ असार ९ गते नेपाल ल्याई हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा थप उपचार गराईएको सहजकर्ता गोलेले जानकारी दिनु भयो ।
मकवानपुरमा बकैया, ईन्द्रसरोबर, भिमफेदी,मनहरी गाउँ पालिका त्यस्तै थाहा नगरपालिका र हेटौंडा उपमहानगर पालिका गरि ६ वटा स्थानिय तहमा सुरक्षित आप्रबासन कार्यक्रम (सामी ) सन्चालन हुँदै आईरहेकोछ भने राक्सिराङ्ग , कैलाश , बागमती र मकवानपुरगढी गाउँपालिका गरि थप ४ वटा स्थानिय पालिकामा सामी कार्यक्रम चाडैनै लागू हुने क्रममा रहेकोछ । सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारमा गएकाहरुको परिवारलाई बित्तिय साक्षरता, सचेतना कक्षा मनोपरामर्श लगाएतका अन्य कार्यक्रम सन्चालन गर्दै आईरहेकोछ ।