मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले भोलिको मनहरीको आधार आजको बालबालिका रहेको बताउनुभयो । जेष्ठ १६ गते देखि २० जेष्ठ सम्म सन्चालित बाल क्लबहरुलाई क्षमता बिकास कार्यक्रमको समापन गर्नुहुदै यस्तो बताउनुभएको हो ।

साथै अबको केही बर्षमै अहिलेका बाल क्लबमा आवद्ध बालबालिकाहरु मनहरी गाउँपालिकाको निर्णायक शक्ति बन्ने भन्दै सहि र गलतलाई छुट्टाउदै एक शशक्त नागरिक बनाउन पालिका सरकारले लगानी गरेको बताउनुभयो ।
गाउँपालिकाले बालबालिकाहरुलाई बिशेष रुपमा हेर्दै बजेट तर्जुमाको क्रममा सदैब प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।
यस्तै समापन कार्यक्रममा बोल्नुहुदै मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले यस पटकको तालिम निक्कै नै प्रभावकारी भएको आफुले अनुगमनको क्रममा देखेको बताउदै कार्यक्रमको प्रसंशा गर्नुभयो । साथै आजको बालबालिका सफल भयो भने निश्चय नै भोलिको मनहरी सफल हुने देखिन्छ भन्दै पालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

कार्यक्रम मनहरी गाउँपालिकाको आयोजना तथा उत्कृष्ट मिडिया प्रा . लि . मनहरी ७ को समन्वयमा सन्चालन भएको हो । गत जेष्ठ १६ गते देखि जेष्ठ २० गते सम्म ५ दिन सन्चालन भएको कार्यक्रममा छबि अनित्य,अशोक सुजन श्रेष्ठ , विशाल कुमार राई, सुजन बि. क . र उमेश राई लगाएतका प्रशिक्षकले प्रशिक्षण दिईएको थियो ।

तालिममा सहभागी मनहरी २ नम्बर वडाकी सृजना स्याङ्तानले ५ दिने बसाई निक्कै फलदायी भएको र तालिम अवधी भरी अभ्यासलाई पहिलो प्राथमिकता प्रदान गरि सबैलाई बोल्ने बानिको बिकास गराउन गरिएको प्रयास निक्कै राम्रो लागेको बताईन । त्यस्तै मनहरी ६ बाट पहिलो पटक सहभागी निशा जिम्बाले यस्रो खालको तालिममा सहभागी भएर शुरुमा बोल्नै डराउने अवस्था थियो तर अहिले तालिममा बसे पछि निरन्तर अभ्यासको कारण आत्मबल बढेको बताईन ।

यस्तै गरि मनहरी ८ का अबिन पौडेलले पहिलेको तालिम भन्दा अलि फरक ढङ्गको भएको र साथै विषय बस्तुमा बुझाईको स्तर समेत बढेको भन्दै यस पटकको तालिम बिशेष रहेको प्रतिक्रिया दिए ।

तालिम अवधिमा बैठकको माईन्युट लेखन, प्रतिबेदन लेखन, सामाजिक सन्जालको प्रयोग फाईदा बेफाईदा , असल नेतृत्व , बोल्ने कलाको बिकास र स्टेज कार्यक्रममा कसरी बोल्ने त्यस्तै जनप्रतिनिधि सङ्ग बालबालिका छलफल जस्ता विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक पक्षमा बिशेष प्राथमिकता प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा पालिका उपाध्यक्ष सीता पुलामी मगर , प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी , वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापा, महिला बालबालिका शाखा प्रमुख शिला अधिकारी , उत्कृष्ट मिडिया प्रा.लि.का अध्यक्ष तथा संचारकर्मी उमेश राई , बाल सहजकर्ताहरु लिला तामाङ र शुशिला नेपाली त्यस्तै पत्रकार सुरेश तामाङ लगाएतकाको आतिथ्यता रहेको थियो ।