आजबाट नेपालीहरुको नयाँ बर्ष अर्थात बिक्रम संम्वत २०८२ को शुरुवात भएकोछ । हरेकको नयाँ बर्षको कामको थालनी गर्ने आफ्नै तरिका हुन्छ ।
त्यस्तै जनताको सेवामा निरन्तर लागि परिरहने जनप्रतिनिधिको काम गर्ने तरिका पनि फरक फरक हुन्छ । यसै क्रममा मनहरी गाउँपालिका वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि वडा अध्यक्ष राजकुमार पाख्रिनले पनि नयाँ बर्ष जनताको बिचमा पुगेर नयाँ साललाई मनाएकाछन्। उनले वडाको सबै भन्दा बिकट बस्तिको रुपमा चिनिने भिमानका जनतालाई बार्है महिना पानीको श्रोतको सुनिस्चितता गराउदै स्थानिय जनता बिच रहेर मनाएकाहुन्।
खडेरीको महिना भनेर चिनिने चैत्र, बैशाख र जेष्ठ महिनामा खाने पानीको हाहाकार मच्चिने उक्त स्थानमा जनतालाई पानी खुवाउन बिगतका दिनहरुमा आफ्नै ब्यक्तिगत खर्चमा पानीको ट्यान्कर बोकेर जाने गर्दथे । स्थानीय जनताको दु:खलाई सदाको लागि निर्मुल पार्नको लागि चालु आर्थिक बर्ष २०८१/०८२ मा ४ लाख बजेट बिनियोजन गरि गाउँ नजिकैको पुतली खोल्सीमा रिजर्भ ट्यान्की बनाई पानीको श्रोत बार्है महिना खुवाउनको लागि उनी सफल भएको हो । पहिलो चरणमा पानी रिजर्भ ट्यान्की बनाई पानीलाई जम्मा गरि राख्ने ट्यान्की बनाईएकोछ । चालीस हजार लिटर पानी अट्ने ट्यान्की बनाईएकोछ । अबको आगामी बजेट मार्फत बस्तिको बिचभागको डाडामा ट्यान्की बनाई टोलभरी पुर्याईने समेत अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो । उक्त क्षेत्रमा २२ घरधुरीको बसोबास रहि आएकोछ ।

मनहरी गाउँपालिकाको एकमात्र मानव बस्ती जस्ले पर्सा जिल्लाको सिमाना छोएको र उब्जनीको हिसाबमा अन्नबाली निक्कै राम्रो हुने उक्त स्थान पर्यटकीय क्षेत्रको रुपमा निक्कैनै सम्भावना बोकेको स्थानहो । आकास खुलेको बेला पर्सा जिल्लाको बिरगंज सहर र भारतको रक्सौल समेतको अवलोकन तथा प्राकृतिक रुपमा पनि सदाबहार रुपमा चिसो हावा चल्ने उक्त स्थानमा पुग्दा छुट्टै आनन्द आउने गर्दछ । खानेपानीको श्रोतको ब्यबस्थापन भए लगतै स्थानिय देबि लाल रुम्बाले सदिऔ देखिको हाम्रो समस्यालाई जनप्रतिनिधिले बुझेको भन्दै वडा अध्यक्ष साच्चिकै जनप्रेमी भएको प्रमाणित हुन पुगेको बताए ।

नवनिर्मित रिजर्भ ट्यान्की सम्म पुग्न बढिमा १५ मिनेट समय लाग्ने गर्दछ । देश संघियतामा गए सङ्गै बिकासको वास्तविक अनुभव गर्न र प्रत्येक्ष साक्षी बनेका भिमानबासीहरुले पछिल्लो समयमा बिजुली , सडक र खानेपानीको बार्है महिनाको लागि श्रोत सुनिश्चितता गरेकोछ ।