मनहरी गाउँपालिका वडा नम्बर ६ को हङ्गलङले नयाँ बिधालय प्राप्त गरेकोछ । अष्ट्रेलियन संस्था क्याप्टिभेटिङ ईन्टरनेश्नलको आर्थिक सहयोग तथा थ्री एन्जल्स नेपालको समन्वयमा ५ कोठे पक्की भवनको उद्घाटन वडा अध्यक्ष युवराज थपलियाले गर्नुभएको हो ।
तीन पटक सम्म ठेक्का परेर पनि भौगोलिक बिकटताकै कारण ठेकेदार भागेपछी त्रिमुर्ती कन्ट्रक्सन काठमाण्डौले १७ लाख रुपैयाँमा ठेक्का पारी काम गरेको थियो । २०५५ सालमा स्थापना भएको श्री प्रजा बिकास प्राथमिक बिधालय मनहरी ६ हङ्गलङ विभिन्न समयमा कहिले प्राकृतिक बिपत्ती त कहिले भौतिक संरचना जिर्ण हुँदा पठन पाठनमा समस्या पुर्याउदै आईरहेको थियो । ३२ घरधुरी रहेको हङ्गलङ् क्षेत्रमा अधिकांश चेपाङ समुदायको बसोबास रहेकोछ । ३० जना बिद्यार्थी अध्ययनरत बिधालयमा कक्षा ३ सम्म पठनपाठन हुने गरेकोछ ।

काठले बनेको र पानी पर्दा समेत कक्षाकोठामा पानीको आहाल पर्ने समस्याले ग्रसित बिधालयको मुहार फेर्ने कार्यमा बालबालिकाको शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको संस्था थ्री एन्जल्स नेपालको महत्वपुर्ण हात रहेकोछ । निर्माण कार्यको दुई महिना भित्रै ५ कोठाको पक्की बिधालय प्राप्त गरे सङ्गै बिधालयमा अध्यापन गराउदै आईरहनुभएका शिक्षक तथा अभिभावक र बिधार्थी समेत खुशी भएकाछन् ।

नब निर्मित भवनको उद्घाटन गर्नुहुदै वडा अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका थपलियाले राज्यको बजेट फ्रिज भएर गएको ठाउँमा संस्थाको सक्रियतामा भवन बन्न सफल भएकोमा संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो । बिधालयलाई सम्भावित पहिरोबाट जोगाउनको लागि आवश्यक पर्खाल र बिधालयको स्टाफ रुम छि छिट्टैनै बनाईदिने प्रतिबद्धता समेत जनाउनुभयो ।
भवन ब्यबस्थित भएर मात्रै नपुग्ने भन्दै पुरानो बिधिबाट शिक्षण गर्दै आईरहेको अवस्थामा अब समय सापेक्ष बनाउनको लागि शिक्षकलाई रिफ्रेस्मेन्ट तालिम आवश्यक पर्ने र त्यसको ब्यबस्था गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । शिक्षामा गुणस्तर भएनभने बन्द हुनसक्छ भन्दै अध्यक्ष थपलियाले थोरै संख्या भएर केही नहुने तर गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
सस्थाका प्रोग्राम डाईरेक्टर बिबेक ढकालले निक्कै मेहेनतका बाबजुत यो बिधालय बनेको भन्दै यसको संरक्षणमा लाग्न सबै पक्ष जुट्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै प्रोग्राम म्यानेजर रजनि बाँनियाले सस्थाले बिगतमा सहयोग गर्दै आईरहेको सहयोग निरन्तर रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सोही कार्यक्रममा बिधालयमा अध्ययनरत बिधार्थीहरुलाई स्टेसनरीका सामाग्री र खाजा समेत बितरण गरिएको थियो ।

थ्री एन्जल्स नेपालले सो बिधालयमा अध्ययनरत बिधार्थीहरुलाई सरसफाई शिक्षा देखि स्टेशनरीका सामाग्रीहरु सहयोग गर्दै आईरहेकोछ ।
बिब्यस अध्यक्ष नीर बहादुर प्रजाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष युवराज थालिया , संस्थाका प्रोग्राम डाईरेक्टर बिबेक ढकाल,प्रोग्राम म्यानेजर रजनि बाँनिया ,शाखा प्रमुख सुनिता सिल्वाल,
फिल्ड कोडिनेट प्रतिभा बस्नेत लगाएत अन्यको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण बिधालयका प्रधानाध्यापक देबराज प्रजाले गर्नुभएको थियो ।