मनहरी गाउँपालिकाले महिलाको पाठेघर क्यान्सर बिरुद्धको एच.पि.भि. खोप अभियान २०८१ यहि माघ २२ गते बाट सन्चालन गर्ने भएकोछ । विश्व क्यान्सर दिवसको अवसर पारेर मनहरी गाउँपालिकाले पनि नेपाल सरकारको खोप अभियानलाई सम्पन्न गराउन तैयारी गरिएको मंगलबार एक कार्यक्रमका बिच जानकारी दिईएको हो ।
मनहरी ३ लामिटार स्थित सभाहलमा एच. पि. भि. खोप सम्बन्धी १ दिने अभिमुखिकरण तालिममा खोपको बारेमा र मनहरी गाउँपालिकाको अवस्था र पालिकाको तयारीका बारेमा जानकारी दिईएको हो । कार्यक्रमको तयारी बारे जानकारी दिने उद्देश्यले स्थानिय जनप्रतिनिधि,पालिका प्रशासन,टोलबिकास सस्था र पत्रकार आदिको सहभागिता रहेको थियो ।
पहिलो चरण र दोश्रो चरण गरि संचालन गरिने अभियानको मनहरी गाउँपालिकामा पहिलो चरणमा बिधालयमा र दोश्रो चरणमा स्वास्थ्य केन्द्रमा खोप लगाईनेछ । अभियानमा २० वटा निजि तथा सामुदायिक बिधालय र १० वटा स्वास्थ्य केन्द्र गरि ३० वटा खोप केन्द्र मार्फत खोप लगाईने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो ।
नेपाल सरकारले यहि माघ २२ गते देखि फाल्गुन ६ गते सम्म खोप अभियान सन्चालन गर्ने भएको हुँदा मनहरीले पनि अभियानलाई सम्पन्न गर्नको लागि माघ २२ गते देखि २५ माघ सम्म सन्चालन गर्नेभएको हो ।
अभियानले बिधालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १० बर्ष देखि १४ बर्ष सम्मका सबै छात्राहरुलाई समेट्नेछ । मनहरी गाउँपालिका भित्र वडा नम्बर १ देखि ९ सम्म २ हजार २ सय बैसठ्ठी जनालाई खोप लगाउन ३२ जना स्वास्थ्यकर्मी र ६४ जना स्वास्थ स्व्यमसेवकहरु गरि ९६ जना जनशक्ति परिचालित हुने जानकारी स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै पालिका अध्यक्ष रन्जन कालाखेतीले अभियानबाट बचेका खोपको पुर्ण रुपमा सदुपयोग हुनेगरी अभियानमा लाग्न निर्देशन दिनुभयो । त्यस्तै पालिका उपाध्यक्ष सीता पुलामी मगर( रेखा)ले यो अभियानको उद्देश्य भनेको लक्षित समूह कोहि कसै पनि छुट्नु हुदैन भन्ने रहेको हुँदा यसमा जनप्रतिनिधि ज्युहरु झन जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो ।
साधारणतया एच .पि. भि. खोपको मूल्य ९ देखि १० हजार रुपैया सम्म पर्ने गरेको स्वास्थ शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।
नेपालमा प्रत्येक दिन ४ जनाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने गरेको र बार्षिक २ हजार एक सय जना पाठेघर क्यान्सरका नयाँ रोगीहरु थपिने गरेकोछ ।