मनहरी गाउँपालिकामा नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम सम्पन्न भएकोछ । पौष २१ गते देखि शुरु भएको तालिम २४ गते सम्पन्न भएको हो । मनहरी ३ लामिटार स्थित पालिकाको सभाहलमा आयोजित चार दिवसीय कार्यक्रमको चौथो तथ अन्तिम दिन पालिकाका सबै जनप्रतिनिधिहरुलाई दर्शक दिर्घमा राखी तालिम अवधी भित्र सिकेका कुराको डेमो प्रस्तुत गरेका थिए ।
युवा संसदहरुले गाउँपालिकाको १५ औं गाउँसभालाई प्रस्तुत गरेका थिए । दर्शक दिर्घमा रहेका पालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी रन्जन कालाखेतीले नमुना युवा संसदको प्रस्तुती हेरि रहदा कतै आफू निबर्तमान अध्यक्ष त भएको होईन भनेर सोच्न बाध्य बनाएको भन्दै युवा संसदहरुको प्रसंशा गर्नुभयो ।
गाउँपालिका भित्रका बाल क्लबमा आवद्ध १६ बर्ष देखि २४ बर्ष सम्मका युवा युवतीहरुको सहभागीता रहेको कार्यक्रममा निर्धक्कका साथ आफ्ना प्रस्तुती दिएका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथी सीता पुलामी मगर रेखाले पालिका भित्र रहेका बालबालिकाहरुलाई पालिकाले सदन संचालन गर्न सिक्ने र अभ्यास गर्न अवसर प्रदान गरेको भन्दै तालिममा सहभागी भएकाहरुको प्रस्तुती हेरिसकेपछी तालिम निक्कैनै प्रभावकारी भएको बताउनुभयो । आगामी दिनहरुमा पालिकाले बालबालिका तथा युवाहरूलाई अझ सशक्त र जुझारु बनाउन पालिकाले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो ।

मन्तब्य ब्यक्त गर्ने क्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले यस कार्यक्रमले नयाँ पुस्ताको क्षमता अभिवृद्धिका साथ साथै जनप्रतिनिधिलाई समेत पुनर्ताजगी हुने बताउनुभयो । तालिम भनेको बिधी, पद्धति बुझ्ने र सहि तरिकाले प्रयोगमा ल्याउने एउटा साध्य भएको भन्दै स साना कुरामा पनि ध्यान दिन आवश्यक रहने भन्दै तालिममा सहभागीता जनाउनेहरुको प्रगतिको कामना गर्नुभयो ।

मनहरी गाउँपालिका भित्र गठित बाल क्लबमा आवद्ध रहेकाहरुको सहभागिता रहेको कार्यक्रममा एउटा वडाबाट ३ जनाको दरले २७ जना सहभागी भएकाथिए ।
मनहरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमको लागि गाउँपालिकाले दुई लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

तालिमका सहभागीहरुलाई पालिका उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष ज्युहरुबाट सहभागी प्रमाणपत्र प्रदान गरिएको थियो। ३ नम्बर वडा अध्यक्ष तथा शिक्षा एबम सामाजिक बिकास समिती सम्योजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । ४ दिन सम्म चलेको तालिममा प्रशिक्षक अबिनाश कार्कीले सहजीकरण गर्नुभएको थियो ।