मनहरी गाउँपालिकाको निर्माण हुन लागेको प्रशासनिक भवन आज शनिबार संघीय सरकारका उप प्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुहुने भएकोछ । भवनको शिलान्यास दिउँसो २ बजे मन्त्री सिंहले गर्ने कार्य तालिका रहेको मनहरी गाउँपालिका कार्यालयले जनाएकोछ । लामो समयदेखी भाडाको घरबाट सेवा दिँदै आएको मनहरी गाउँपालिकाको अब आफ्नै भवन बन्ने भएको छ ।
पालिका मनहरीको रजैयामा रहेको कार्यालय भाडाको घरबाट सन्चालित हुँदै आईरहेकोछ । त्यस्तै वडा नम्बर ३ स्थित लामिटारमा केही शाखा र सभाहल रहेको छ । पूर्वपश्चिम राजमार्गको छेवैमा रजैयाको तल्लोटोलमा पालिकाको भवन बन्न लागेको हो ।
पालिकाको प्रमुख प्रशासनिक भवनको तामाकोशी-ढाचा निर्माण सेवा जेभी बालाजु १६ काठमाण्डौले निर्माणको ठेक्का पाएकोछ । यहि असोज १४ गते सम्झौता भएको भवनको २०८२ चैत्र ३० गते निर्माण सम्पन्न हुनेछ ।
तीन तल्लाको निर्माण हुने उक्त भवनको कुल लागत ८ करोड २८ लाख ६ हजार १७८ रुपैयाँ ३९ पैसा रहनेछ । ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने भवन अपाङ्गमैत्री र नयाँ प्रविधियुक्त हुने मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
गाउँपालिका भवनको शिलान्यासको तयारी करिब पूरा भएको पालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । साथै भवन निर्माण भए पछि पालिकाले दिने सेवा थप प्रभावकारी हुनुका साथै आर्थिक बचत समेत हुने उहाँको भनाई रहेकोछ । ‘प्रशासनिक भवन बनेपछि सबै सेवा एकै ठाउँबाट उपलब्ध हुनुका साथै घरभाडा समेत जोगिने बताउनुभयो ।
मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले जग्गा बिबादको लामो समयावधि पस्चात अहिले पालिकाको प्रशासनिक भवन बन्न गईरहेकोछ यसमा सिङ्गो मनहरी गाउँपालिका टिमले गर्व गर्ने दिन भएको भन्दै यो अवसरमा पालिकाको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन पालिकाको राजनीति दल, जनप्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिसहित पालिकाबासीहरुलाई भवनको शिलान्यास कार्यक्रममा उपस्थित भईदिन अनुरोध गर्नुभएकोछ ।