राक्सिराङ्ग ५ नम्बर वडामा रहेको दक्षिणकाली सामुदायिक बन उपभोक्ता समूहको २३ औं बार्षिक साधारण भेला आईतबार सम्पन्न भएकोछ ।
राक्सिराङ्ग ५ निगुरेटार स्थित चर्च भवनमा ५ नम्बर वडाका अध्यक्ष हरि बहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समूहले आर्थिक बर्ष २०८०/०८१ को असार मसान्तसम्मको लेखा परिक्षण बन उपभोक्ताहरुको भेला मार्फत सार्बजनिक गरिएको हो । समूहले १ श्रावण २०८० देखि ०८१ को असार मसान्त सम्म ३३ लाख ८१ हजार बयानब्बे रुपैयाँको कारोबार गरिएको लेखा परिक्षणमा देखाईएकोछ ।
बनजङ्गल संरक्षण, डढेलो नियन्त्रण तथा बृक्षारोपण लगाएतका कार्यमा अग्रणी स्थानमा रहेता पनि मनहरी बजार देखि नजिकैको बन क्षेत्र सोही बन भएकोले बहु उपयोगी चिउरीको रुख संरक्षणमा भने बर्षाैनि निक्कै सास्ती खेप्नु परेकोछ । समूहले गाउँपालिकालाई १ लाख ४७ हजार २ सय ८० रुपैयाँ स्थानिय कर दाखिला गरेकोछ । त्यस्तै समूहले १८ लाख १७ हजार ७ सय बयालिस रुपैयाँ ३३ पैसा बैंकमा जम्मा गर्न सफल भएको प्रतिबेदनमा देखिएकोछ ।
साधारण भेला समुहको अध्यक्ष रमेश प्रजाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका ५ नम्बर वडा अध्यक्ष हरि प्रजा, सब डिभिजन बन कार्यालय राक्सिराङ्गका सन्तोष चौधरी , फेकोफन राक्सिराङ्ग अध्यक्ष सन्तोष थापा लगाएत अन्यको आतिथ्यता रहेको थियो । भेलाले आगामी आर्थिक बर्ष २०८१/०८२ को नयाँ कार्यक्रम समेत पारित गरेकोछ ।