कैलाश गाउँपालिकाको वडा नम्बर ४ देउरालीका स्थानियको सक्रियतामा गाउँमा बाटो पुगेकोछ ।
स्थानियहरुले आफ्नो सक्रियतामा मुठ्ठी दानबाट शुरु गरेको अभियानले गाउँमा ५ किलोमिटर बराबरको बाटो स्तरिकृत र नयाँ ट्र्याक ओपन गर्ने कार्य सम्पन्न भएको छ । स्थानिय गाउँलेहरुले उठाएको सहयोग रकमबाट २.५ किलोमिटर नयाँ ट्र्याक समेत खोलिएकोछ ।
राक्सिराङ्ग गाउँपालिकाको लावती गर्खाल चम्पाखानी ग्रामीण सडक स्तर उन्नती तथा नयाँ ट्र्याक खोल्ने कार्यको लागि ४४ जना मनकारी ब्यक्तिबाट २ लाख ७५ हजार एक सय रुपैयाँ सहयोग गरेको थियो ।

त्यस्तै गरि बाटो खन्नको लागि देउराली सामुदायिक सस्थाबाट ५ लाख ७२ हजार ९ सय सत्तरी रुपैया आर्थिक सहयोग गरेको थियो । स्थानियहरुले जनश्रमदान अन्तर्गत २ लाख ६१ हजार ६ सय रुपैया बराबरको श्रमदान गरेका थिए ।
राक्सिराङ्ग गाउँपालिकाले स्थानियहरुको अभियान सफल बनाउन १३ घण्टा मेसिन निशुल्क सहयोग त्यस्तै कैलाश गाउँपालिकाले ५ सय लिटर डिजल सहयोग र लाली गुराँस सिमेन्ट ( लिक्चे खानी ) बाट १४ घन्टा ब्रेकर मेसिन निशुल्क उपलब्ध गराई सहयोग गरेका थिए ।
कुल ११ लाख ९ हजार ६ सय सत्तरी रुपैयाँको लागतमा ५ किलोमिटर बाटो स्तरौन्नती तथा नया ट्र्याक खोल्दै गर्दा स्थानिय तहका नेतृत्वलाई हिनता बोध गराउने कार्य पक्कै पनि भएको छ भन्दै निबर्तमान कैलाश गाउँपालिका अध्यक्ष टंक बहादुर मुक्तानले जनताको आवश्यकता के हो भन्ने कुरा पालिकाको नेतृत्व गर्नेहरुले बुझ्नुपर्ने बताउनुभयो । आफ्नो पालामा केही बजेट छुट्याई बाटोको केही काम भएको देखिएता पनि नयाँ नेतृत्व कमिसनको खेलमा लागेको भन्दै बेलैमा जनताको आवश्यकतामा आधारित योजनालाई सम्बोधन गर्न चेतावनी दिनुभयो ।

जेष्ठ ३० बुधबार बाटो उद्घाटनमा सबै भन्दा बढी सहयोग रकम प्रदान गर्दै बाटो खन्न सहयोग गर्ने देउराली सामुदायिक सस्थाको अध्यक्ष राम सिंह थिङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समुदायको पैसा समुदायकै हितमा प्रयोग गरि समाजमा अग्रणि मोर्चामा उभिन पाउँदा ज्यादै खुशी लागेको बताउदै थिङले समाजको लागि हाम्रो सस्था सदैब लागि परि रहने बताउनुभयो । नब निर्मित बाटोको प्रमुख अतिथी समेत रहनुभएको थिङले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । नयाँ ट्र्याक ओपन र बाटो स्तरिकरणसंगै कैलाश ४ नम्बर वडाको अधिकांश जनताले उक्त बाटो प्रयोग गर्नेछ । त्यस्तै बर्खाको समयमा कैलाश ३,४ र ७ नम्बर वडाको अधिकांश जनताले सोही बाटो प्रयोग गरि राक्सिराङ्गको लावती हुँदै सरिखेत पलासेको बाटो प्रयोग गरि मनहरी बजार आउने गर्दछन् ।
कार्यक्रममा बोल्दै राक्सिराङ्ग गाउँपालिका ३ नम्बर वडाका पुर्ब वडा अध्यक्ष बाबुलाल स्याङ्तानले उक्त बाटो बने सङ्गै जनजिविकामा सहजता मिल्ने बिश्वास ब्यक्त गर्नुभयो । धेरै सहयोग गर्न नसकेता पनि आफुले यो महान कार्यको लागि सानोतिनो सहयोग गर्न पाउँदा पुन्यको कार्य गरेको भान भैरहेको समेत स्याङ्तानले बताउनुभयो ।
बाटो नबन्दा २ हजार पर्ने चामल बजारबाट किनेर घर पुग्दा धुवानी सहित ४ हजारको हाराहारीमा खर्छ हुने तितो बिगतलाई सम्झदै अब २ हजार पाँच सयमै घरमै आईपुग्ने वातावरण सृजना भएको र यो वातावरण सृजना गर्नको लागि सहयोग गरिदिनुहुने सम्पुर्ण सहयोगी हातहरुप्रती उच्च सम्मान रहेको भन्दै स्थानिय अगुवा बिष्णु लाल चेपाङले अझै बाटोको स्थायित्वको लागि स्थानिय सरकारले बिशेष पहल लिनुपर्ने बताउनुभयो । कार्यक्रम समितिका अध्यक्ष केशब मुक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।