मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा पाचौं मनहरी महोत्सव हुने भएकोछ । सोमबार संघले पत्रकार सम्मेलन मार्फत महोत्सवको बारेमा जानकारी दिईएको हो । मनहरी ७ रोटरी मार्केटमा सम्पर्क सचिवालय समेत खडा गरिएकोछ ।
कोभिडको कारण नियमित रुपमा हुन नसकेको महोत्सव ५ बर्ष पछि मनहरी खोला किनारमा हुदैछ । यहि माघ १६ गते देखि संचालन हुने महोत्सव माघ २८ गतेसम्म संचालनमा आउने आयोजकले जनाएकोछ ।
कृषि,पर्यटन र व्यापार ग्रामिण बिकासको मुल आधार भन्ने मुल नाराका साथ सन्चालन हुने महोत्सबले मनहरी गाउँपालिका सङ्गै राक्सिराङ्ग र कैलाश गाउँपालिकालाई समेटेर त्यस क्षेत्रको स्थानिय कृषि उत्पादन , कला संस्कृति र बजारीकरणको लागि सहयोग पुर्याउने लक्ष्य लिईएकोछ ।
त्यस्तै गरि महोत्सवबाट मनहरीलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गराउने लक्ष्य लिईएकोछ । पर्सा राष्ट्रिय निकुञ्ज र मध्यवर्तीसंग समन्वय गरेर १७ किलोमिटर दुरिको हात्ती सफारी गराईने संघका महासचिव पदम बहादुर तितुङले बताउनुभयो । तितुङले हात्ती सफारीको क्रममा दोश्रो सौराहाको रुपमा बिकास हुँदै गईरहेको पुरानो रमौली प्रतापपुर हुँदै डिल्लिपुर बसन्तपुर सम्मको रुट रहने समेत जानकारी दिनुभयो ।
मुख्य आयोजकको रुपमा संघ आफै रहनेछ भने छिमेकी पालिकाहरु राक्सिराङ्ग र कैलाश गाउँपालिका सह-आयोजकको रुपमा रहनेछ । यस्तै गरि मनहरी गाउँपालिका संरक्षकको रुपमा रहनेछ भने उद्योग बाणिज्य संघ मकवानपुर प्रबर्द्धकको रुपमा रहनेछ ।
महोत्सवमा १ सय ५० वटा स्टल रहनेछ । जसमध्ये २० वटा स्टल बिशेष स्टल रहने पत्रकार भेटघाटमा जानकारी गराईएकोहो । मनहरीको पहिचान तामा र माछाले यस पटकको महोत्सबमा प्राथमिकता पाउने आयोजकले जानकारी दिएकोछ । त्यस्तै कृषि प्रदर्शनी, तैयारी पोशाक, मह, गेडागुडी, सिस्नु लगाएत अन्य बाल उद्यान र हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारको सांस्कृतिक प्रस्तुती रहने श्रोतले जनाएकोछ ।
संघले सभापति गणेशमान मानन्धरको संयोजकत्वमा महोत्सव मुल आयोजक कमिटी निर्माण गरेकोछ ।त्यस्तै २३ वटा उपसमिती बनाई कार्य बिभाजन गरि महोत्सवको तैयारीमा लागेकोछ ।
बिक्रम सम्बत २०६७ असोज ९ गते स्थापना भएको संघले स्थापना बर्षमै मनहरी महोत्सव गरेको थियो । पहिलो मनहरी महोत्सव २०६७ माघ १४ देखि १८ गते सम्म संचालन भएको थियो । त्यस्तै २०७१ साल ,२०७३ साल र २०७५ सालमा क्रमशः दोश्रो, तेश्रो र चौथो महोत्सब सम्पन्न गरिसकेको संघले कोभिड १९ को कारण हुन नसकेको पाचौं मनहरी महोत्सव बि.स.२०८० माघ १६ गते देखि २८ गते सम्म हुदैछ।