मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा सन्चालन भएको चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको उपाधी तपोवन एफसीले जितेको छ । सोमबार भएको फाइनलमा हाँडीखोला यूथ क्लवलाई १-० गोल अन्तरले हराउँदै तपोवनले सहभागिताको पहिलो वर्षमै उपाधी जितेको हो । खेलको सातौं मिनेटमा विदेशी खेलाडी लिओसले गरेको गोल नै निर्णायक बन्यो । कर्नरबाट आएको बललाई उनले सहजै गोल गरेका हुन् । खेलको दोस्रो हाफमा हाँडीखोलाले गोल गर्ने केही राम्रा मौका पाएपनि सदुपयोग गर्न नसक्दा उपविजेतामै सिमित बनेको छ ।
विजेता तपोवनले एकलाख एक हजार एकसय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता हाँडीखोला यूथले ५१ हजार १५1 रुपैयाँमै चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तपोवनका युवराज लामा घोषित हुँदा उत्कृष्ट गोलरक्षक तपोवनका आशिष मोक्तान, उत्कृष्ट डिफेन्डर हाँडीखोलाका पुस्कल भट्ट, उत्कृष्ट मिडफिल्डर तपोवनका सन्तोष गोङ्बा, उत्कृष्ट फरवार्ड हाँडीखोलाका पेम्बा तामाङ र उत्कृष्ट प्रशिक्षक तपोवनका सुमन पाख्रीन घोषित भए । सर्वोत्कृष्ट खेलाडीले १० हजार र बाँकी विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, चैनपुर जेसीजका अध्यक्ष सुरेश गौतमलगायतले पुरस्कार प्रदान गरेका हुन् । मनहरी गाउँपालिका ४ नम्बर वडाको मुख्य प्रायोजनमा चैनपुर जेसीज मनहरीले प्रतियोगिताको आयोजना गरेको हो ।
फुटबल प्रतियोगिता संयोजक नवराज रिजालको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीलगायतको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जेसीज सप्ताह अन्तर्गत भएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।