जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुदलाई प्रभावकारी माध्यम बनाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौं, २३ असोज। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले सगरमाथालगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई खेलकुदका माध्यमबाट विश्व समुदायसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ। उहाँले खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी वातावरण संरक्षण, जलवायु न्याय र नेपालको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गतको प्ले रग्बी नेपालले नेपाल रग्बी संघको सहकार्यमा आयोजना गरेको ‘एभरेस्ट रग्बी लेगेसी २०२६–२७’ राष्ट्रिय संवाद कार्यक्रम लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले सगरमाथामा जलवायु परिवर्तनका असर प्रत्यक्ष रूपमा अनुभूत गर्न सकिने उल्लेख गर्नुभयो।

आफू स्वयं सगरमाथा आरोही भएकाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव नजिकबाट अनुभव गरेको बताउँदै उहाँले विश्वका औद्योगिक तथा धनी राष्ट्रहरूबाट हुने हरितगृह ग्यास उत्सर्जनको असर नेपालजस्ता न्यून उत्सर्जन गर्ने मुलुकले बढी भोग्नुपरेको विषय उठाउनुभयो। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसका असरबाट हिमाल, हिमाली जनजीवन र प्राकृतिक सम्पदाले गम्भीर चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले यस विषयलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो।

मन्त्री पौडेलले सगरमाथालाई आधार बनाएर सञ्चालन गरिने खेलकुद गतिविधि तथा अन्तर्राष्ट्रिय अभियानले जलवायु परिवर्तनको वास्तविकता विश्वसामु प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभयो। खेलकुदको विश्वव्यापी पहुँच र प्रभावलाई उपयोग गर्दै हिमाल संरक्षण, वातावरणीय सन्तुलन र जलवायु न्यायका पक्षमा साझा आवाज निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।

नेपालमा रग्बी खेलको सम्भावना र विकासमा राज्यको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री पौडेलले यसको विकासका लागि सरकार, खेल संघ, निजी क्षेत्र र सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। रग्बीलाई विद्यालय तथा समुदायस्तरदेखि विस्तार गर्दै खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रतियोगिता सञ्चालन, खेल पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहभागिता अभिवृद्धिमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। खेलको दीर्घकालीन विकासका लागि नीतिगत स्पष्टता, पर्याप्त स्रोतसाधन र संस्थागत प्रतिबद्धता आवश्यक रहेको उहाँको धारणा थियो।

खेलकुद क्षेत्रको विकासमा संरचनागत तथा नेतृत्वसम्बन्धी चुनौतीहरू रहेको औँल्याउँदै मन्त्री पौडेलले खेलको वास्तविक मर्म बुझेका, खेलाडीका समस्या पहिचान गर्न सक्ने र खेल क्षेत्रमै अनुभव हासिल गरेका व्यक्तिहरू नेतृत्वमा पुग्नुपर्ने बताउनुभयो। उहाँले योग्यता, क्षमता र अनुभवलाई प्राथमिकता दिनुको सट्टा व्यक्तिगत निकटता वा आफ्नो समूहसँगको सम्बन्धका आधारमा नेतृत्व चयन गर्ने प्रवृत्तिले खेल क्षेत्रको संस्थागत विकासमा समस्या सिर्जना गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।

खेलकुद क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन खेलाडी तथा खेलको विकासलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उहाँले खेल क्षेत्रमा देखिने विकृति र विसङ्गति अन्त्य गर्न जवाफदेहिता, सुशासन र योग्यतामा आधारित प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

मन्त्री पौडेलले राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच नीतिगत उद्देश्य तथा कार्यान्वयनका विषयमा हुने बुझाइको अन्तरले विकासका काममा ढिलाइ र व्यावहारिक समस्या निम्त्याउने गरेको विषयसमेत उठाउनुभयो। राजनीतिक नेतृत्वले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रशासनिक संयन्त्रले प्रभावकारी रूपमा कार्यान्वयन गर्न र प्रशासनिक प्रक्रियालाई परिणाममुखी बनाउन दुवै पक्षबीच स्पष्ट संवाद, आपसी समझदारी र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

कानुनी प्रक्रिया र प्रशासनिक जिम्मेवारी सुशासनका आधार भए पनि तिनको कार्यान्वयनमा देखिने अन्योल, प्रक्रियागत जटिलता र समन्वयको अभावले काममा अनावश्यक ढिलाइ हुन नदिनुपर्ने उहाँले बताउनुभयो। कानुनको परिधिभित्र रहेर समस्या समाधान गर्ने, जिम्मेवारी स्पष्ट गर्ने र सार्वजनिक कामलाई प्रभावकारी बनाउने कार्यशैली आवश्यक रहेको उहाँको धारणा थियो।

‘एभरेस्ट रग्बी लेगेसी २०२६–२७’ राष्ट्रिय संवाद कार्यक्रमले नेपालमा रग्बी खेलको विकास, खेलकुद क्षेत्रका नीतिगत तथा संस्थागत चुनौती, नेतृत्वको भूमिका र खेलकुदमार्फत नेपालको हिमाली पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गरेको छ।

खेलकुदलाई राष्ट्रिय पहिचान, वातावरण संरक्षण र सामाजिक रूपान्तरणसँग जोड्दै रग्बीको विकासका लागि आवश्यक सहकार्य र दीर्घकालीन योजनाबारे बहस अघि बढाउनु कार्यक्रमको महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.