प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मकवानपुरका सन्दीप गहतराजले स्वर्ण पदक हासिल गरेकोछ । ३००० हजार मिटर तर्फको दौडमा उनले ३००० हजार मिटरको दुरीलाई ९ मिनेट ५० सेकेण्डमा पार गर्दै बागमती प्रदेश प्रथम भएको हो । मनहरी ८ सिम्पानी स्थित महेन्द्र किरण माध्यामिक बिधालयबाट उनले दौड प्रतियोगीतामा सहभागिता जनाएको हो । उनले पालिका, जिल्ला हुँदै बागमती प्रदेशमा समेत प्रथम हुँदै राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागमती प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने भएकोछ ।
जेष्ठ १३ गते देखि १५ गते सम्म काठमाण्डौ दशरथ रंगशालामा आयोजना गरिएको प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा १३ वटा जिल्लाका सहभागीलाई पछि पार्दै उनले मकवानपुर जिल्लालाई स्वर्ण पदक दिलाउन सफल भएकोहो ।

उनी पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा महेन्द्र किरण माध्यामिक बिधालयका पहिलो बिद्यार्थी समेत बनेकाछन्। आफ्नो सफलताको पछाडी उनले बिधालयको पनि राम्रो सहयोग रहेको बताए । साथै राष्ट्रिय स्तरको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको गोल्ड मेडल प्राप्तिको लागि आफ्नो लक्ष्य रहेको समेत बताए ।
राष्ट्रिय स्तरको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता यहि जेष्ठ २० गते देखि २३ गतेसम्म काठमाण्डौमा हुने भएकोले उनी काठमाण्डौमै बन्द प्रशिक्षणमा रहेकाछन् ।
