चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यहि असोज २३ गतेबाट सन्चालन हुने भएको छ ।

आयोजक चैनपुर जेसीज मनहरीको शनिबार मनहरी ३ लामिटारस्थित सचिवालयमा बसेको तेस्रो बोर्ड बैठकले २३ गतेबाट जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता आयोजनाको निर्णयसंगै आयोजकले फुटबलको तयारीलाई समेत अघि बढाएको छ । चैनपुर जेसीज मनहरीले स्थापनाकाल देखि नै यो प्रतियोगितालाई सन्चालन गर्दै आएको छ ।
गत वर्ष झैं यस वर्षको प्रतियोगिताको विजेताले नगद एकलाख एक लाख एक हजार एकसय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘हामीले स्थापनाकाल देखि नै यो जेसीज कप खुला फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौँ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय यस जेसीजले यो प्रतियोगितालाई विशेष महत्त्व दिँदै आएको छ’, अध्यक्ष ढकालले भने, ‘हाम्रो यो प्रयासलाई मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालय, ५ नम्बर वडा कार्यालय, मनहरी गाउँपालिकासहित विभिन्न संघसंस्थाले विशेष सहयोग पुर्याउँदै आएको छ ।
कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा रहेको प्रतियोगिता संयोजक समेत रहेका जेसीजका कार्यकारिणी उपाध्यक्ष मनोज बिष्टले जानकारी दिए । प्रतियोगिताका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगितामा सहभागी हुने चाहने टिमले असोज २१ गतेसम्म ७ हजार ५ सय रुपैयाँ तिरेर टिम दर्ता गर्न सक्नेछन् । चैनपुर जेसीज मनहरीका महासचिव सुरेश गौतमका अनुसार प्रतियोगिताको पहिलो संस्करणको उपाधि बागमती प्रदेश प्रहरी गणले र दोस्रो संस्करणको उपाधी मकवानपुरगढी जेसीजले जितेको थियो । खेल मनहरी गाउँपालिका ४ स्थित गोलघर खेल मैदानमा हुनेछ । जेसीजको बैठकमा मुख्य प्रायोजक मनहरी ४ का वडा वडा अध्यक्ष प्रकाश थापा, जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष थापाले प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न वडाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस प्रतियोगितालाई वडा र आफूले विशेष महत्त्व दिँदै आएको बताए ।

https://shorturl.fm/eaSGb