२०८२ असार – ३२, मनहरी गाउँपालिका वडा नम्बर २ स्थित त्रिरत्न प्राथमिक बिधालयमा अध्ययनरत ६५ जना बालबालिकालाई गाउँपालिकाद्वारा शैक्षिक सामाग्री बितरण गरिएकोछ । बुधबार मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)को प्रमुख आतिथ्यतामा उक्त सामाग्री बितरण गरिएको हो । बितरण कार्यक्रममा मन्तव्य राख्नुहुदै उपाध्यक्ष पुलामी मगरले मनहरी गाउँपालिकाले शिक्षामा सबैको पहुँच र शिक्षालाई प्रभावकारी बनाउन काम गर्दै आईरहेको फ भोलिको दिनमा पनि काम गरिरहने बताउनुभयो ।
बालबालिका भोलिका कर्णधार र भोलिको मनहरीको आधार रहेको भन्दै शिक्षामा जोड दिनु आजको आवश्यकता रहेको समेत बताउनुभयो । गत शैक्षिकसत्रमा भन्दा यस पटकको एसईईको नतिजामा सोचेजतिको नतिजा हातपार्न नसकेतापनी सुधारिएको नतिजाले पक्कै पनि मनहरीको शिक्षा अब सुध्रिदो क्रममा रहेको भन्दै सानो कक्षा देखिनै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । भौगोलिक रुपमा बिकट भएकै कारण सामान्य कापी ,कलम र किताबलाई सुरक्षित राख्न झोला नभएकै कारण पढ्न छोड्नु नपर्ने भन्दै समुदायमा कोहि कसै त्यस्तो समस्यामा रहेको छ भने सिधै आफुलाई आएर खवर गर्न समेत स्कुललाई अनुरोध गर्नुभयो ।
झण्डै २ घण्टा बिधालयमा बालबालिकाहरुसङ्ग साक्षातकार गर्दै बस्नुभएका उपाध्यक्ष मगरसङ्ग बिधालयमा अध्ययनरत बालबालिकाहरुले खुलेर आफ्ना कुराहरु राखेका थिए । आफूहरुले बिधालय पढ्न आउँदा आवश्यक पर्ने कापी , कलम र झोला प्राप्त गर्दा निक्कै खुशी भएको बताएकाथिए । साथै पालिका उपाध्यक्षसङ्ग आफूहरु नियमित बिधालय पढ्न आउने प्रतिबद्धता समेत जनाए ।
महिला तथा बालबालिका शाखाको सहयोगमा उक्त शैक्षिक सामाग्री बितरण गरिएको हो । कक्षा ५ सम्मका ६५ जना बिधार्थीहरुलाई कापी, पेनसिल, पेन , झोला आदि सामाग्री बितरण गरिएको थियो ।
उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रममा पालिका उपाध्यक्ष पुलामी सहित वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पाख्रिन , बिधालयका शिक्षकहरु, संचारकर्मी तथा पत्रकार उमेश राईको आतिथ्यता रहेको थियो भने शैक्षिक सामाग्री बितरण कार्यक्रमको सभाध्यक्षता बिब्यस समिती अध्यक्ष गुण सिंह लामाको रहेको थियो ।कार्यक्रम बिधालयका प्रधानाध्यापक कृष्ण बहादुर घलानले सहजिकरण गर्नुभएको थियो ।