राक्सिराङ गाउँपालिकाका दुर्गम वडाहरू ६, ७ र ८ का बासिन्दाका लागि एक अत्यन्तै राहतदायी खबर आएको छ। ती वडाहरूको केन्द्रमा रहेको काँकडा स्वास्थ्य चौकीले अब एम्बुलेन्स सेवा प्राप्त गर्ने पक्का भएको छ ।
राक्सिराङ–५ चैनपुरस्थित गाउँपालिकाको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच ईस्थर बेन्जामिन स्मृति संस्था (Child Rescue Nepal) र राक्सिराङ गाउँपालिकाबीच एम्बुलेन्स सहयोगसम्बन्धी सम्झौता पत्रमा औपचारिक हस्ताक्षर सम्पन्न भयो ।

गाउँपालिकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत र वडा नं. ६ का अध्यक्ष अक्कल बहादुर मुक्तान तथा संस्थातर्फबाट जिल्ला कार्यक्रम व्यवस्थापक बुद्ध वीर लामाले हस्ताक्षर गर्नुभयो ।
ईस्थर बेन्जामिन स्मृति संस्था सन् २००७ देखि राक्सिराङ क्षेत्रमा शिक्षा, बाल संरक्षण, खानेपानी, सरसफाइ, विद्यालय स्वास्थ्य, छात्रवृत्ति तथा सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

दुर्गम स्थानमा अवस्थित भए पनि काँकडा स्वास्थ्य चौकीले दक्ष जनशक्ति र आधारभूत स्वास्थ्य पूर्वाधारका बलमा यस आर्थिक वर्षमा मात्र ४० जना सुत्केरीको सुरक्षित प्रसूति सेवा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । साथै, स्वास्थ्यकर्मीहरूले घरघरमै पुगेर स्वास्थ्य परामर्श र उपचार सेवा प्रदान गर्दै आइरहेका छन् ।
संस्थाको सहयोगमा हेल्थ असिस्टेन्ट अध्ययन पुरा गरेपछि सोही स्वास्थ्य चौकीमा कार्यरत माया लामाले संस्थाका दातृ निकायका प्रतिनिधिहरू गाउँ भ्रमणमा आउँदा गाउँको कठिन अवस्थाबारे जानकारी गराएकी थिइन् । उनले बिरामीलाई समयमा स्वास्थ्य संस्थामा पुर्याउन यातायातको अभावकै कारण अकालमा ज्यान जानुपर्ने समस्यालाई दर्साउँदै एम्बुलेन्स सहयोगको अपिल गरेकी थिइन् । त्यसपछि संस्थाले समस्या गम्भीर रहेको निष्कर्ष निकाल्दै एम्बुलेन्स खरिदका लागि आवश्यक आर्थिक स्रोत जुटाएर प्रक्रिया अघि बढाएको जानकारी कार्यक्रम व्यवस्थापक लामाले दिनुभयो ।
हस्ताक्षरित सम्झौताअनुसार संस्था मार्फत २५,००,००० रुपैयाँ (पच्चीस लाख) बराबरको रकम पालिकालाई हस्तान्तरण गरिनेछ । सो रकम २०२५ भित्र खर्च गर्ने गरी एम्बुलेन्स खरिद तथा सेवा सञ्चालन कार्यक्रम अघि बढाइनेछ ।
गाउँपालिकाले एम्बुलेन्स प्राप्त भएपछि दुर्गम बस्तीका बिरामीहरूलाई छिटो, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।