राक्सिराङ गाउँपालिका वडा नं. ३ मा दुना टपरी बनाउने १५ दिने सीपमूलक तालिम शुक्रबार सम्पन्न भएको छ।प्राकृतिक श्रोतको उपयोग गरौं, राक्सिराङ्ग स्वाबलम्बी बनौं भन्ने अभिप्रायका साथ गत बैशाख २१ गते देखि संचालन भएको तालिम सम्पन्न भएको हो ।
प्लाष्टिक जन्य सामाग्रीको प्रयोगमा न्यूनीकरण गर्दै,स्थानिय स्तरमा रहेको प्राकृतिक श्रोतको प्रयोग गरि स्थानियलाई उद्यमि बनाउने अभिप्रायका साथ संचालित तालिम गाउँपालिकाको आर्थिक सहयोगमा लालित्य सेवा प्रतिष्ठान हेटौंडाको आयोजनामा सम्पन्न भएको हो । तालिममा स्थानीय २५ जना महिलाहरूले सहभागिता जनाएका थिए।
१५ दिन सम्म संचालित तालिममा दुना, टपरी बनाउने आधुनिक मेसिनको प्रयोग गरि सिकाईएको थियो । गाउँपालिकाले १५ दिने तालिमको लागि २ लाख ५० हजार रुपैयाँ र टपरी बनाउने मेसिनलाई २ लाख ५० हजार रुपैयाँ गरि जम्मा ५ लाख रुपैयाँ छुट्टयाईएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राज कुमार मल्लले, “सीप र उत्पादनसँगै रोजगारी सिर्जना गर्न यस्ता तालिमहरू निकै उपयोगी छन्।हामीले गाउँपालिकाबाट यस्ता कार्यक्रमलाई अझै व्यापक बनाउँदै लानेछौं।” उद्यमशिलतालाई निरन्तरता दिने समुहलाई सक्रियताको आधारमा पालिकाले अनुदान समेत दिने बताउनुभयो ।
यस्तै गरि पालिका उपाध्यक्ष बनस्तम थिङले राक्सिराङ्गमा प्लाष्टिक जन्य सामाग्रीको प्रयोगमा न्यूनीकरण गराउदै लैजान नीति तथा कार्यक्रमनै ल्याउने तयारी गरेको बताउनुभयो । यस्तै स्थानिय उत्पादनलाई प्रोत्साहन र बजारीकरणमा पालिकाले सहयोग गरिने बताउनुभयो ।
तालिम अवधिमा सहभागीहरूले पातबाट दुना, टपरी, बटुका जस्ता सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने विधि, मेसिनको प्रयोग तरिका तथा उत्पादनलाई बजारसम्म पुर्याउने उपायहरू सिकेका थिए।
समापन कार्यक्रममा गाउँपालिकाले तालिममा प्रयोग गरिएका मेसिन सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको छ।
लालित्य सेवा प्रतिष्ठानका अध्यक्ष मुना पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्लको, पालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाईबा, सामाजिक विकास अधिकृत गोविन्द अधिकारी , समाजसेवी विरेन्द्र जिम्बा लगायत अन्यको आतिथ्यता रहेको थियो।
