राक्सिराङ्ग गाउँपालिकाले रातको समयमा पनि सामाजिक सुरक्षा भत्ता बितरण गरेकोछ ।
चाडबाडको मुखैमा आएको सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने खबरले टाढा टाढाबाट आएका सेवाग्राहि र अत्याधिक चाप बढेपछि सेवाग्राहीलाई निरास नबनाउने हेतुले पालिका , प्रशासन र बैंकको सहमतिमा कडा सुरक्षा सहित सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो ।

बैंकको सेवा अबधि भर प्रदान गर्दा आधा सेवा ग्राहीलाई समेत सेवा दिन नसकिने भएपछि सर्बपक्षिय निर्णय सहित सेवा प्रदान गरिएको हो ।
पालिका अध्यक्ष राजकुमार मल्लले जनताको सेवाको लागि चुनिएका हामी जनप्रतिनिधिले जनता आपतमा परेको बेला सेवा गर्नुनै सच्चा राजनितीक धर्म भएको भन्दै सेवा लिन आएका सबै सेवाग्राहिलाई केही समय ढिलासम्म बसेर भए पनि सेवा लिने अवसरको वातावरण सृजना गरेकाहौ भन्नुभयो ।
त्यस्तै गरि पालिका उपाध्यक्ष बनस्तम थिङले चाड पर्बको मुखैमा सामाजिक सुरक्षा भत्ता लिन आउनुभएका सेवाग्राहीहरुलाई निरास नबनाई थप अतिरिक्त सेवाबाट खुशी मिल्ने हुँदा पालिकाले यो सत्कर्मको प्रयास गरेको भन्दै जनताको सेवाकै लागि सेवक भएर बसेको कारण नागरिकको सेवा नै हाम्रो पहिलो धर्म भएको बताउनुभयो ।
राक्सिराङ्ग गाउँपालिकामा पछिल्लो आकडा अनुसार २ हजार ८८ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको पालिका श्रोतले जनाएकोछ ।आर्थिक बर्ष २०८१/०८२ तर्फको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता स्वरुप २ करोड २३ लाख बराबरको रकम प्राप्त भएको पालिकाका सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा प्रमुख दिल बहादुर रुम्बाले जानकारी दिनुभयो ।

राती अबेर सम्म भए पनि भत्ता प्राप्त गर्न सफल वृद्ध/वृद्धाहरुले पालिका र बैंकलाई खुशी हुँदै धन्यवाद ब्यक्त गरेका थिए । बिहानै देखि सेवा ग्राहिलाई ब्यबस्थापनको लागि नगर प्रहरी खटाईएको थियो ।

पालिकाले ग्लोबल आइएमई बैंकसंगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेकोछ । ग्लोबल आइएमई बैंक चैनपुर शाखा प्रमुख रुद्र घलानका अनुसार आजको सेवाग्राहीहरुलाई राती ८ बजे भित्रमा सेवा प्रदान गर्नको लागि आफू लगाएत सबै टिम लागि परेको बताउनुभयो ।