राक्सिराङ्ग गाउँपालिकामा बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको संस्था फ्युचर जेनेरेशन नेपालले साउन ११ गते शुक्रबार एक दिने कार्यशाला सम्पन्न गरेकोछ ।
सौराहाको होटल जङ्गल सफारीमा भएको बाल अधिकार र बाल संरक्षणका सवालमा स्थानिय सरकारको दायित्व सम्बन्धी १ दिने कार्यशालामा जनप्रतिनिधि, बाल अधिकार समिती, कर्मचारी ,बाल क्लब , शिक्षक , सुरक्षा निकाय र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाको बालबालिकाको बर्तमान अवस्था र भाबी योजनाका बारेमा बोल्दै कार्यशालाका सभाध्यक्ष एबम गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले राक्सिराङ्गमा बालबालिका पुनस्थापना केन्द्र संचालन गर्ने योजना रहेको समेत बताउनुभयो । बालबालिकाको क्षेत्रमा पालिकामा कमै संघ संस्था रहेको भन्दै भौगोलिक बिकटता भएको कारणले गर्दा बालबालिकाको क्षेत्रमा सोचे अनुरुपको काम गर्न नसकिरहेको भन्दै बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु सङ्ग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यशालामा बाल अधिकार र बाल संरक्षण सम्बन्धी अबधारणा , बालबालिका सम्बन्धी कानुनी रुपमा संविधान, ऎन र नियमावलीमा भएको ब्यबस्था,बाल संरक्षण संयन्त्र, बाल कल्याण अधिकारी र स्थानिय बाल अधिकार समितिको भुमिका लगाएत बाल अधिकार समितिको कार्य योजना र स्थानिय तहको प्रतिबद्धता जनाउँदै सम्पन्न भएको थियो ।
बाल संरक्षणका सवालमा बिगदका ऎन र अहिलेको ऐनमा फरक छुट्टाउनु जरुरी रहेको भन्दै २०४८ सालको बाल अधिकार ऎन कल्याणकारी अबधारणामा आधारित रहेको र बाल अधिकार सम्बन्धी ऎन २०७५ र नियमावली २०७८ अधिकारमुखी अबधारणामा आधारित रहेर ल्याईएको कानुन भएको समेत जानकारी गराईएको थियो ।
त्यस्तै गरि बालबालिकाको संरक्षणको लागि अस्थायी सेवा केन्द्र , पुनःस्थापना केन्द्र र बैकल्पिक स्याहार प्रदायकहरुको भुमिकाको बारेमा थप स्पष्टता पारिएको थियो । त्यस्तै बाल अधिकार समितिको कार्य योजना र स्थानिय तहको तर्फबाट राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौलाले कार्यान्वयन गर्न प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रम अल्टरनेटिभ्स टू सेपरेसन (ATOS)को सहयोगमा राष्ट्रिय बाल अधिकार परिषदको प्राबिधिक सहयोग एबम राक्सिराङ्ग गाउँपालिकाको समन्वयमा फ्युचर जेनेरेशन नेपालले आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका बाल संरक्षण शाखाका देबि डोटेल, नमुना भुसाल लगाएतकाले सहजिकरण गर्नुभएको थियो ।