राक्सिराङ्ग गाउँपालिकाले जनतासंग प्रत्यक्ष भेट गरि फिल्डमै समस्याको समाधान गराउने उद्देश्यले वृहत एकीकृत घुम्ती शिविर सन्चालन गरेकोछ । बैशाख १० गते सोमबार देखि शुरु गरिएको शिविरमा ४ सय भन्दा बढिले प्रत्यक्ष लाभ लिईएको पालिकाले जानकारी दिएकोछ ।

सेवा लिने सबैको अधिकार, घर घरमा स्थानिय सरकार भन्ने मुल नाराका साथ राक्सिराङ्ग गाउँपालिकाले यस आर्थिक बर्षको नीति तथा कार्यक्रममै राखेर कार्यक्रम सन्चालन गरेको हो ।

पालिकाले पहिलो शिविर अन्तर्गत राक्सिराङ्ग गाउँपालिका वडा नम्बर २ कुडुले स्थित प्रजा निम्नमाध्यमिक बिधालयमा सन्चालन गरेको हो । शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता , उपाध्यक्ष बनस्तम थिङको बिशेष आतिथ्यता एबम गाउँपालिका पालिकाको प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला, १ नम्बर वडाका वडा अध्यक्ष बबिराम मुक्तान,२ नम्बर वडा अध्यक्ष बुद्धराम मुक्तान र ३ नम्बर वडाका अध्यक्ष उत्तम वाईबा लगाएतकाको आतिथ्यता रहेको थियो ।

शिविरमा सहकारी जागरण कार्यक्रम,कृषि बिकास कार्यक्रम,पशु सेवा कार्यक्रम, आयुर्वेद सेवा र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।
सहकारी जागरण अन्तर्गत सहकारी सेवा पहुँच र उपभोग प्रबर्द्धन कार्यक्रम त्यस्तै कृषि बिकास कार्यक्रम अन्तर्गत मिनिड्रिलर,कम्वाईन मिल,टनेल प्लास्टिक,स्प्रे तथा बीउ बिजन बितरण , पशु सेवा कार्यक्रम अन्तर्गत पशु औषधि तथा घाँस बीउ बितरण , आयुर्वेद सेवा अन्तर्गत नागरिक आरोग्य सेवा कार्यक्रम, जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम,स्तनपान गराईरहेका स्तनपाई आमाको लागि दुग्धबर्धक औषधि बितरण र सामान्य स्वास्थ परिक्षण सेवा अन्तर्गत चिकित्सकीय स्वास्थ्य परिक्षण,अपाङ्गता परिचय पत्र बितरण ,मधुमेह, ब्लड प्रेसर ,क्षयरोग सम्बन्धी विशेष जाँच ,नरप्लाण्ट लगाएत प्रशुती रोग सम्बन्धी विशेष जाँच र गर्भवतीहरुको लागि भिडियो एक्सरे लगाएतका सेवाहरु गाउँमै पुगेर प्रदान गरिएको हो ।
पालिकाले यस्तै प्रकृतिको शिविरहरु वडा नम्बर ६ को काकडा स्वास्थ्य चौकी र जुरेथुम्ब प्रा बिमा बैशाख १४ गते , बैशाख १८ गते ४ नम्बर वडा कार्यालय तथा स्वास्थ्य केन्द्रमा र बैशाख २१ गते कालिका मा बि अठारे राक्सिराङ्ग ९ नम्बरमा राख्ने तैयारी रहेको समेत पालिकाले जानकारी दिएकोछ ।