सुनाचुरी सामुदायिक बन उपभोक्ता समुह मनहरी ६ ले सामुदायिक बनक्षेत्र भित्रै प्राङ्गारिक मल बनाउने अभ्यासमा लागेकोछ । झाडी सुधार कार्यक्रम अन्तरगत छाँटकाट गरि निस्किएको खेर गएका बुट्यानहरुलाई खाल्डो निर्माण गरि प्राङ्गारिक मल बनाउने तर्फ समिती लागि परेको हो ।
यस बर्ष परिक्षणको लागि प्राङ्गारिक मल उत्पादन गरिएको र उत्पादित मल बन क्षेत्र भित्र रहेको नर्सरीमा प्रयोग गरिने साथै बाँकी रहेको खण्डमा समुदायलाई उपलब्ध गराईने समुहका सचिब रमेश कार्कीले जानकारी दिनुभयो ।

२ सय ६८ हेक्टर क्षेत्रफल ओगटेको बनको २६ हेक्टरमा यसपाली झाडी सुधार कार्यक्रम लागू गरिएको छ । बनको क्षेत्रफललाई दश वटा ब्लकमा बिभाजन गरि विभिन्न कार्यक्रम लागू गरिरहेको समुहले हैसियत बिग्रेको बनलाई पुनः उत्पादन, बैज्ञानिक बन जस्ता कार्यक्रमले सम्बोधन गर्दै आईरहेको थियो । बनले नयाँ बिरुवाहरु हुर्काउने क्रममा बन क्षेत्रमा झण्डै ५ हजार चार सयको हाराहारीमा चाप, बिजय साल, दार र चिउरी जस्ता बिरुवा लगाएको समेत समुहका सचिब कार्कीले जानकारी दिनुभयो ।

यस्तै गरि बन क्षेत्र भित्र हाईटेन्सन मुनिका खाली जमिनको सदुपयोग गर्दै अमला, तेजपत्ता ,कागती, सर्पगन्दा र कुरिलो लगाएतका बिरुवाहरुले ढाकिएको देख्न सकिन्छ । तार बार सहित बनबाट कटान गरि ल्याईएका काठको ब्यबस्थापनमा आफुलाई अब्बल साबित गरेकोछ समुहले ।

बन क्षेत्र भित्र रहेका जीव जन्तुहरुलाई खानेपानीको ब्यवस्थापनको क्रममा फरक फरक ठाउँमा पक्की बाल सहित र कच्चा बाल गरि पाँच वटा पोखरी निर्माण गरि बन्यजन्तु मैत्री सामुदायिक बनको रुपमा आफ्नो बनलाई अगाडि ल्याउन प्रयत्नरत रहेको देखिन्छ । सामुदायिक बन क्षेत्र भित्र बँदेल , चित्तल, जरायो , मृग लगाएत सालक समेत रहेको समुहको दाबी रहेकोछ ।

बनले आफ्नो बार्षिक आम्दानिको ४० प्रतिशत रकम बन बिकासका कार्यमा लगाउदै आईरहेकोछ । त्यसको साथसाथै सामुदायिक बिकास तर्फ गत बर्ष ६० लाख बरबरको योजना सम्पन्न गरेकोछ । जस अन्तर्गत कृषि बाटो , चर्च , मन्दिर निर्माण स्कुल कम्पाउण्ड, क्याम्पसलाई अक्षयकोष तर्फ सहयोग लगाएत खेलकुद तर्फ क्लब भबन निर्माण लगाएत अन्य क्षेत्रमा सहयोग पुर्याउदै आईरहेकोछ । साथै समुहले सामाजिक बिकास तर्फ विभिन्न सिपमुलक तालिम , गरिब परिवारलाई ५ जना परिवार सदस्य भएकाहरुको ५० घर परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएर सम्बोधन गर्दैछ ।

सामुदायिक बन समुहले भोलिको दिनलाई मध्यनजर राख्दै ८० लाखको मुद्दती खाता खोली रकम जम्मा गरेको छ । आम्दानिको श्रोतको रुपमा काठ मात्र सधै नहुने भएकोले अन्य बिकल्पमा जानू उपयुक्त हुने भएकोले बेलैमा सजक भएको बन उपभोक्ताको धारणा रहेकोछ । आफ्नै लगानिमा दुई तला र एक ट्रसको भवन जोडेका समुहले मासिक ८ हजार दुईवटा सटर भाडामा लगाएरै आम्दानी गरिरहेकोछ ।
एम्बुलेन्स किन्ने ड्रिम प्रोजेक्ट
सुनाचुरी साबउले यस बर्ष एउटा एम्बुलेन्स खरिद गर्नलाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा अगाडि सारेकोछ । घना बस्तिमा समुदायका कोहि मानिस बिरामी अथवा अत्यावश्यक परेको बेलामा भनेको बेलामा एम्बुलेन्स उपलब्ध नहुने समस्यालाई सम्बोधन गर्न यो प्रोजेक्टले सहयोग गर्नेमा बन उपभोक्ता समूह बिश्वस्त देखिन्छ ।
आगामी दिनमा पर्या पर्यटनको लागि ईको पार्क ट्वाईटेल टुरिजम को अबधारणा अगाडि बढाउने योजना समुहको रहेको साथै गरिब तथा बिपन्न परिवारलाई सहकारीसङ्ग समन्वय गरेर मागमा आधारित योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडि बढाईने श्रोतको भनाईछ ।