नेपाल ग्रामीण पुर्नर्निमाण संस्था (RRN) ले कैलाश गाउँपालिकासँगको लागत साझेदारीमा सञ्चालनगरेको खानेपानी तथा सरसफाइ योजनाहरुको अनुगमन गरिएको छ । कैलाश गाउँपालिका वडा नंं ९ स्थित विर्ता, आमबोटे बरेटार खानेपानी योजनाको निर्माण अवस्थाको बिहिबार स्थलगत अवलोकन गर्दै आयोजनाका उपभोक्ताहरुसँग आयोजना सञ्चालन गर्दा आइपरेका कठिनाई तथा समस्याहरुका बारेमा संयुक्त अनुगमन टोलीले छलफल गरेको थियो । टोलीले स्थानियको घरआँगनमा खानेपानी लगायत सरसफाइ तथा स्वच्छताको अवस्थाको पनि अवलोकन गरेको थियो ।
अनुमन टोलीमा गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तान, प्रमुख प्रशासकिय अधिकृत विनोद रोका, इन्जिनियर महेश केसी, संस्थाका जिल्ला कार्यक्रम संयोजक लिल बहादुर कार्की, पोषण अधिकृत सुवास घिमिरे, लेखा अधिकृत धर्म उपाध्याय र सब इन्जिनियर कृतीराज बुडाथोकी रहनुभएको थियो ।
छलफल कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले खानेपानी सरसफाइ योजनाले पहिचान गरेका अति आवश्यक योजनाहरुमा संस्थाहरुसँगको साझेदारीमा खानेपानीको समस्या समाधान गर्न गाउँपालिकाले निरन्तर पहल गरिरहेको बताउनु भयो । स्थानिय समुदायको अग्रसरता र प्रत्यक्ष सहभागितामा निर्माण गरिएको योजनामा उनीहरुले पुयाएकोे श्रमको योगदानले योजना प्रति अपनत्वको भावना पनि विकास हुने बताउनु भयो । पालिकाले खानेपानी सरसफाइ क्षेत्रमा कार्यगर्ने संस्थालाई समन्वय गरेर पालिका तहमा पहिचान भएका खानेपानी तथा सरसफाईका अत्यावश्यक योजनामा लगानी समेत गर्ने सहज वातावरण तयार गरेको बताउनु भयो ।
संस्थाले “एक घर एक धाराको नीति” अनुसार पालिकासँगको साझेदारीमा खानेपानी आयोजना निर्माण र सरसफाइ स्वच्छताका कृयाकलापहरु सञ्चालन गर्दैगरेको कुरा संस्थाका संयोजकले बताउनु भयो । यस आयोजना अन्तर्गत ४९ घरमा एक घर एक धारा निर्माण सम्पन्न भएको, ३ वटा पानी संकलन टंकी निर्माण भइ शाखा पाइपलाइनको काम अन्तिम चरण रहेको छ । यस योजनामा र सहयोगी संस्थाको पच्चीस लाख एकहजार छ सय बयानब्बे, गाउँपालिकाको आठ लाख बैसठ्ठी हजार आठसय छ र स्थानिय उपभोक्ताहरुको श्रमदान गरि छ लाख त्रिचालीस हजार दुइ सय छपन्न गरी कुल चालिस लाख पैतालिस हजार सातसय चौवन्न रुपैयाको लागतमा निर्माण कार्य भैरहेको छ । यस आयोजना क्षेत्रलाई पुर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्नका लागि स्थानिय उपभोक्ताहरुको सहभागितामा सरसफाइ तथा स्वच्छता सत्र समेत निरन्तर सञ्चालन गर्दै रहेको कुरा बताउनु भयो ।
छलफल कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत विनोद रोकाले आयोजनालाई दीगो र व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि मर्मत संभारकोष खडा गर्र्न बेलैदेखि थालनी गर्नुु पर्ने र आयोजनाको नियमित रेखदेख गर्नको लागि मर्मत संभार कार्यकर्ताको व्यवस्था पनि गर्नका लागि सम्बन्धित योजनाका उपभोक्ता समितिलाई सुझाव समेत दिनु भयो । खानेपानी सरसफाइको क्षेत्रमा पालिकाले शौचालय कार्ड समेत वडा बाट वितरण गर्दै गरेको जानकारी दिनु भयो । शौचालय बनाउने घरधुरीले शौचालय कार्ड लिन समेत सचेत गराउनु भयो । आगामी दिनमा वडा तथा पालिका बाट प्रवाह गरिने सेवालाई समेत शौचालय कार्डसँग जोडने कुराको जानकारी समेत दिनु भयो ।