अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-५ चौमपुर स्थित श्री प्रजा जागृति मावि चैनपुरमा गठन भएको बाल अधिकार समूहद्वारा जेठ ३२ गते पत्रुखाना जङ्क फूड खाने बानी: स्वास्थ्यमा हुन्छ हानी भन्ने सचेतना मुलक नाटक प्रदर्शन सम्पन्न गरेको छ ।
विद्यार्थीहरूले अहिलेको समयमा धेरै जसो जङ्क फुड प्रयोग गरेको र जङ्क फूड खाने बानीले गर्दा घरमा बनाएको खानेकुरा नखाने र त्यसले मानव स्वास्थ्यमा पर्ने असर बारे बाल अधिकार समूहका सदस्य भाइ बैनीहरूले नाटक मार्फत प्रदर्शन गरेका हुन् ।
श्री प्रजा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अंगत लामाले जङ्क फूडके विषयमा प्रस्तुत गरेको नाटक समय सान्दर्भिक भएको बनाउनु भयो ।
उहाँले पछिल्लो समयमा बालबालिकाहरूमा बढ्दो रूपमा जङ्क फूडको प्रयोगले उनीहरूको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्नुका साथै बढी खर्चालु भएको बताउनु भयो ।
नाटकमा जङ्क फूडको प्रयोगपछि बालबालिकाले घरमा बनेको खाना नखाने गरेको समस्यालाई प्रस्तुत गरिएको छ । साथै जङ्क फूडमा बानी परेका बालबालिकाका अभिभावक पनि सजिलो र छिटो तयारी हुने बहानामा स्वस्थ्यवर्धक पोषण युक्त खाना बनाउन र खुवाउने चलन हट्दै गएको विषयलाई नाटकमा उल्लेख गरेर यसले स्वास्थ्यमा पार्ने असर बारेमा पनि प्रस्तुति गरिएको बाल अधिकार समूहका अध्यक्ष अर्पण प्रजाले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर प्रजाले बालबालिकामा मात्र हैन गाउँघरमा पनि जङ्कफूडको प्रयोग बढ्दै गएको हुँदा बालबालिकामा मात्र नभएर अभिभावकहरूमा पनि स्वास्थ्य समस्या आउन बताउनु भयो ।
उहाँले प्रस्तुत नाटकले बालबालिकामा सकरात्मक सचेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।
यस्तै मनहरी गाउँपालिका-७ मनहरीस्थित रोटरी माविमा गठन भएको बाल अधिकार समूहद्वारा जेठ ३१ गते बेचबिखन विरुद्धको सचेतना मुलक नाटक “फूलमायाको रहर”को प्रदर्शन सम्पन्न गरिएको थियो ।
नाटकमा बालबालिकाहरूले बाल विवाह र त्यसले बेचबिखनमा पर्ने जोखिमसम्बन्धी फूलमायाको रहर नामक सडक नाटक प्रस्तुत गरेका हुन् ।
नाटकमा आफ्नो व्यक्तिगत रहर पुरा गर्न दलालको लहलहैमा बालविवाह गरी बेचबिखनमा पर्नु परेको विषयलाई उठान गरिएको छ ।
सो सचेतनामूलक नाटकमा अरुको लैलै र देखासिकीमा लागेर घर छोडेर विवाह गरी दललले नेपालको बोडर कटाउन लाग्दा प्रहरीले उद्धार गरी पीडकलाई कारबाही गराउन सफल भएको घटना प्रस्तुत गरिएको थियो ।
नाटकले बालबालिकालाई पढ्ने उमेरमा अरूकै लैलैमा नलाग्न र अभिभावकलाई पनि आफ्ना बालबालिका के गर्दैछन् भनेर निगरानी गर्न तथा सचेतना अभिवृद्धि गर्न मद्दत गरेको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यामक गोविन्दप्रसाद पौडेलले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गरेकी बाल अधिकार समूहकी अध्यक्ष नसिता मियाँले बालविवाह न्यूनिकरणका लागि सचेतना मूलक नाटक प्रस्तुत गरिएको बताउनु भयो ।
कार्यक्रममा मनहरी गाउँपालिका स्तरीय मानव अधिकार समूहकी संयोजक बिमला गोपालीले यस नाटकले बालबालिका तथा अभिभावकमा बाल विवाह र यसले समाजमा हुने मानव बेचविखनका विरुद्ध सचेतना अभिवृधि गर्ने उल्लेख गर्नु भयो ।
उहाँले पहिलेको तुलनामा अहिले बालबालिकामा जनचेतना वृद्धि भएको देखिन्छ तर बालबालिकाले मात्र बुझेर नहुने अभिभावकहरूले पनि बुझ्न जरूरी भएको बताउनु भयो ।
साथै गोपालीले बाल अधिकार र मानव अधिकारको विषय समेटेर बाल अधिकार समूहका बालबालिकाले समाजमा भएका घटनालाई लिएर सचेतना कार्यक्रम गरेकोमा धन्यवाद समेत दिनु भयो ।
उहाँले आगामि दिनमा पनि यस्तै खालका जनचेतना जगाउने कार्यक्रम भइरहे भने बालबालिकाको क्षमता अभिवृद्धि हुनका साथै बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने बताउनु भयो ।