एउटै पुस्तामा समृद्ध बनाउने लिम्चुङबुङको सपना नियाल्दा —प्रदीप वालाचन

यात्रा अकस्मात् होस् या योजनाबद्ध, यात्रा यात्रा नै हुन्छ । सवाल त्यसलाई अर्थपूर्ण बनाउने कुरा महत्वपूर्ण हुन्छ । त्यो अवसरलाई सदुपयोग गर्नेहरुले सक्नु नै पर्ने सवाल हो । लिम्चुङबुङ जान मन थियो तर समय व्यबस्थापन धेरै जटिल थियो मेरो लागि । हरेक मानिसको आफ्नै तालिका हुन्छ जीवनमा समयको । हो, मेरो जीवनको त्यही तालिका थाँती राखेर यात्रा निधो गरी निस्केको थिएँ यात्राको लागि । कहिलेकाँही आफैलाई गज्जब लाग्छ आफैले गरेको कुरा त्यो भलै आत्मरति नहोस् किन ? चाहे त्यो पवित्र सम्बन्धको लागि या स्वार्थपुर्ण सम्बन्धका लागि तर मलाई विश्वास छ कि सम्बन्धहरु प्राय आत्मरति जस्तै लाग्ने गर्दछ हमेशा । यसलाई पुनर्नवीकरण गर्दै पुस्तान्तरण र अनन्त बनाउन सकिन्छ । त्यसको लागि निस्वार्थ र सकरात्मक सोंच शर्त हुने गर्दछ ।

हामी लिम्चुङबुङलाई गन्तव्य बनाएर निस्क्यौं बिहानको ८ः०० बजे मनहरीबाट । मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी रेखा,मनहरी गापा—२ को वडा अध्यक्ष राजकुमार पाख्रीन, मिडियाकर्मी उमेश राई र दिलमायाँ सुनार लगायतको टोली । जनयुद्धले जोडाएका सम्बन्धहरु नवीकरण गर्ने अवसरको रुपमा लिएर फोन मार्फत् सम्पर्क जोड्ने कोशीष गर्दै अघि बढ्यौं पुर्व दिशा ।

झुर्झुरे पुगेर माओवादी नेता वडा अध्यक्ष कमान सिं पाख्रीन क.पृथक, वाइसिएल क.मुक्ति लगायत सँग भेट भयो । उहाँहरुकै समन्वयमा बागमती किनारमा खाना खायौं युवा नेता तथा वडा अध्यक्ष दन्तलाल माझी किरणको साथ ।

हामीलाई निकै लामो यात्रा गर्नु थियो गन्तव्य भेट्न । सिन्धुली मरिणमा राज कुमार श्रेष्ठ उत्साह, प्रकाश श्रेष्ठ लगायत सँग भेट भयो कपिलाकोटमा । त्यो दिन विवाहको साइत परेकोले व्यस्त थिए जसकारण भेट हुन असमर्थ थिए अरु साथीहरु ।

यसपटक भित्री मधेसको मार्ग मदन भण्डरी लोकमार्ग (धरान चतरा) ले हाम्रो गन्तव्यलाई डोर्‍याएको थियो । कोशी डाइभर्सन, सिन्धुलीमाडी हुँदै भिमानमा पुगेर मेजर द्वय (जोडा) मनकुमारी राई र खड्ग सिं साउदसँग भेट गरी चियापान र भलाकुसारी फोटो सेसन पछि हामी छुट्यौं । त्यहाँ साता ट्रेनिङको बसाई रहेकोले भेट भयो उहाँहरुसँग ।

बिगतमा पैदल हिंडेका गाउँ बस्तीहरु, आफुले भिडन्त गरेका ठाउँहरु अनि आफु बसेका व्यारेकहरु चिरपरिचत थिए । धुमिल बन्दै गएका यादहरु बिच पनि सम्बन्ध धुमिल थिएन । जनयुद्धले जोडेको हाम्रो सम्बन्ध थियो त्यो । वर्गप्रेमको सम्बन्ध हो त्यो । अहिलेको उपलब्धी सँग जोडिएको सम्बन्ध हो । मान्छेलाई नदेखाइएका अकल्पनीय ढङ्गले हाम्रो जीवन भोगाईसँग जोडिएका सम्बन्धहरु हुन् ती ।

पश्चिम दक्षिण बगेको राप्ती, पुर्व दक्षिण बगेको बागमती, पश्चिम दक्षिण बगेको मरीण पछि त्यो पुर्व दक्षिण बगेको कमला नदी सँगै हामी चन्दनपुर रानीबास हुँदै नदी तरेर भलुवाही, डकाहा, दुधौली भएर कटारी निस्क्यौं । त्यहीँ अल्मलिएछु म । म पुरानो जानकार मान्छेको रुपमा रहे पनि म नै भूलभूलैयामा परेपछि अरुलाई के भन्नु ? जब कि हामी प्रदेश बदलिने बेला सिमानामा फोटो खिच्ने कुरा थियो तर भेऊ नपाएर कुरा बिग्रियो । बिकासले गुणात्मक फड्को मारिसकेकोले आफै अल्मलिने भएछु । त्यहाँको बाटो, पार्क सुन्दर ढङ्गले सजाइएको रहेछ जब कि हामीले छोड्दा पानी मुनि पुल थियो । त्यो बेला पानी मुनि पुल भएको जिल्ला उदयपुर भनेर पढिन्थ्यो । त्यही असहजतालाई हटाउनका लागि भनेर बागमती प्रदेश सभा सदस्य मातृका प्रसाद भट्टराई क.बसन्त सँग निरन्तर सम्पर्कमा नै थिएँ तैपनि अलमल परें । उहाँले दिएको नम्बरको भाई दिपक क्षेत्री सँग सम्पर्क जोड्न सकिएन ।

त्यहाँ पनि मेरो वर्गप्रेमले जोडेका सम्बन्धहरु थिए । सबै सम्भव नभए पनि मानसपटलमा उभिएका पात्रहरु चित्रदर्शन गर्न थालें । कटारीबाट नेपालटार हुँदै अगाडी बढ्दै गर्दा सम्पर्क नम्बर कसैको नभएकोले डाटा अन गरेर अनलाईनमा उदयपुरे कमरेडहरु सर्च गर्न थालें । सप्तरी सिसुवारी उमेश बा (गुमान सिं सुवेदी) की छोरी पुनम सुवेदीको प्रितम मगर शुरेस सँग विवाह भएको याद थियो । कुमार राई शक्तिको घर त्यतै हो भन्ने थाहा थियो । केही समय अगाडी महोत्तरी बर्दिबासबाट गएका पुर्व पिएलएका साथीहरुले भेटघाट गरेको फोटोमा देखिएका अनुहारहरु परिचित थिए मसँग । त्यसैको पछ्याई गरें । कोशिस गर्दा गर्दा बल्ल पुनम सँग सम्पर्क जोडियो । उनी मार्फत् बिना श्रेष्ठ सम्पर्क जोडियो । भोजपुरको चेली परिचित मान्छे नै भएकोले सहजता पुर्वक सम्पर्क गर्दै गयौं । मेरो दिमाखमा मुकुर्ची बजार मुलबाटोमा नै पर्छ भन्नेमा म ढुक्क थिएँ । योजना पनि बनायौं कि हामी खाजा त्यतै खाने भाइबहिनीहरु सँग तर म त्यतिखेर झस्याङ्ग भएँ कि सडक बोर्डमा चुहाडे देखियो । त्यो गाइघाट नजिकै पर्छ । त्रियुगा नगरपालिका भित्र पर्छ । बिनाले भनेको कुरा राम्रो ख्याल नगरी जान्ने टोपल्दा पुगिएछ एकैचोटी गाइघाट । बहिनी सँग सरी मागेर गाइघाट तिर नै साथी खोज्न थालें । एकजना बहिनी दिलमायाँ सुनारको माइत पनि गाइघाट नै भएकोले हामी सबै ढुक्कले पाहुना लाग्यौं ।

सम्पर्क जोड्दै जाँदा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक बिनोद कटुवाल कमरेड दिवससँग सम्पर्क भयो । उहाँ मार्फत नै मकवानपुरबाट जनयुद्ध कालदेखि नै उदयपुरलाई कर्मथलो बनाएर अविरल पार्टी काममा क्रियाशील कोशी प्रदेश सभा सदस्य सम्झना पाख्रीन कमरेड योद्धासँग सम्पर्क भयो । कमरेड योद्धा र निरज खडका सँग साँझै भेट गर्‍यौं र अरु सँग बिहान गाइघाट चोकमा भेट गर्ने सल्लाह गर्‍यौं । पहुना खाना खाएर बाँडिएर बास बस्यौं ।

बिहान जिवानी राई, अर्जुन तामाङ सन्दर्भ, सुनिता लामा, विजय, निराजन, योद्धा लगायतका साथीहरुसँग भेट गर्‍यौं । त्यस क्षण कमरेड तिमाल र प्रवास सँग भेट हुन सकेन । सम्झयौं मात्रै । फोटो सेशन चलायौं । चिया पियौं सँगै हूल मारेर । कति रमाईलो लाग्दोरहेछ ती क्षणहरु । हिजोका सँगै यात्रा गर्दाका पलहरु सम्झने कोशिस गर्थ्यौं दुख : सुखका । हामी संग महिनौं सुनाउदा नभ्याउने सयौं घटना र परिघटना र अनुपम अनुभूतीहरु छन् हाम्रो जीवन भोगाईका । हाम्रो जीवन यात्राका । तर हामी थला मारेर त्यो श्रृंखला बेलीबिस्तार गर्ने ठाऊमा तत्काल थिएनौं । हाम्रो जीवनका तालिकाहरु धेरै बदलिसकेका छन् । समय बदली सकेको छ । जिम्मेवारी, दायित्व र कर्तव्य बदलिकेका छन् । त्यसो त हामी खास खास घटनाहरु कोट्याएर रमाउने, हाँस्ने र भावुक हुने गर्थ्यौं बेला बेला । हाम्रो वर्गप्रेम पुन एकपटक ताजा रुपमा मुखरित भयो त्यो भेटमा ।

हामी त्यहाँबाट मुकुर्ची निस्क्यौं । हिजोको भूल दोहोर्‍याउन मलाई छुट थिएन । त्यसो त मोतिगडाबाट प्रिय भाइ निरज खडकालाई साथै लिएर गएका थियौं । रौतामाई गाउँपालिकाको वडा नम्बर—७, मुकुर्ची बजारमा विना, शक्ति, सुरेश, सुवाश, सुन्दर र रौता माई गाऊपालिका अध्यक्ष बिरेन्द्र कुमार आले लगायतको टोली सँग भेट भयो । न्यानो स्वागत, चोखो मायाँ र मिठो भोजनले हामीलाई अतुलनीय आनन्दा प्रदान गरे टोलीले । बिना बहिनीको बोली फरासिलो, काममा जागरुकता देखेर लाग्यो घर धानेर बसेकी असल बुहारी वा आमा । हिजो लडाकु हुँदाको जस्तै जुझारुपनले हामीलाई उत्प्रेरित गरिरहेको थियो । त्यो समाजमा अगुवा नारीको रुपमा सबैलाई स्विकारोक्तीको रुपमा उभिएकी नारी थिई । त्यही आभाष दिइरहेकी थिई । त्यो देखेर मैले भनें— राजनीति पनि गर्नु शक्तिले घर सम्हाल्छ । उत्तरमा भनि —दादा म राजनीति नगर्ने । मलाई यस्तै ठिक छ ।

मैले धेरै बोलिन अरु कारण कोट्याउनलाई । त्यो भेटघाट यादगार बनाए साथीहरुले । अविरल याद, मिठो सम्झना र हृदय बिछ्याएर धन्यवाद भन्न चाहान्छु मनदेखि शब्द मार्फत् ।

समय निकै घर्कि सकेको थियो । पुग्नु टाडा थियो । हामीलाई राम्रो ख्याल थिएन बाटोको । त्यसकारण हामीले गन्तव्य पुग्न समयको उपयोग गर्नु जरुरी थियो । मलाई थाहा थियो बाटो सजिलो छैन । बाटो (४३ कि.मि.) पनि टाडा छ । फर्किदा पुन: भेट्ने शर्तमा हामी छुट्यौं । रौतामाई गाऊपालिका सँग जोडिएको गाऊपालिका भएपनि लिम्चुङबुङ गाऊपालिकाको मुकाम पुग्न घन्टौं लाग्ने र बाटो बिराउन सक्ने भयले गर्दा पनि हामी बिलम्ब नगरी उकालो लाग्यौं भूगोलको बारेमा सामन्य जानकारी लिएर ।

धुले बाटो त्यसमाथि उकालो कहाँ सजिलो हुन्छ र यात्रा ? तर पनि लिम्चुङबुङको प्रचार र मैले जनयुद्धकालमा भयड्ढर लडाई लडेका ठाऊहरुको झझल्कोले मलाई बाल मतलव जस्तै भइरहेको थियो अप्ठ्याराहरु । गर्मीबाट चिसो, बेसीबाट लेक, दिमाखमा लिपेको लिम्चुङबुङ जसकारण हिंड्दै गरेको भूगोलको अनुमान बाहेक केही थाहा हुने कुरा भएन ।

हामी माथि पुवाँरे भन्ज्याङमा पुगेर देब्रे जाने कुराको राम्रो ख्याल थियो । त्यसपछि डाँडैडाँडा जाने कुरा थाहा थियो तर नेपालको उकाली ओरालीले त्यो कुराको बुझाईमा वैज्ञानिकता भर्न सक्दैनथ्यो । म हिजोको पैदल यात्री भूगोलको बारेमा जानकार भएपनि मेरो असक्षमता सावित भईसकेको थियो ।

मलाई त लाग्यो टावर देख्ने बित्तिक्कै भालेबास आइपुगेछ । फोटो खिच्ने भनेर हामी सबै ओल्र्यौं तर त्यहीबेला बोलेरो आयो । यो भालेबास टावर होइन ? जवाफमा ड्राइभरले भने ‘कहाँ हुनु यो एनसेलको टावर हो, भालेबास टावर त उ…….परै पर्छ ।’ मानौं उनीहरुलाई पनि हिंड्दा दिक्क लाग्ने लामो बाटो छ । हामी सबै हिस्स परेर हिंड्यौं । खित्का छोडेर हाँस्न कन्जुस्याइं गरिएन ।

अब मैले केही निर्णयार्थ नबोल्ने निर्णय गरें । त्यसपछि संचारकर्मी उमेश राईलाई सबै जिम्मेवारी सुम्पि दिएँ किनकी यो यात्राको समन्वयकर्ता उनै उमेश राई थियो । एउटा मान्यता चाहीँ सकेसम्म बाटो बायाँ लाग्ने भन्ने राख्यौं ।

निकैबेरको यात्रा पछि भालेबास देख्यौं । माझखर्क पुग्यौं । गाउँको कच्चि बाटो भर्खर बिकासले पाईला टेकेको आभाष हुन्थ्यो । बिजुलीको पोल, झार नउम्रि सकेको बाटोहरु, एकै खालका जस्ता भएका घरहरु, बारीभरी बग्रेल्ती लडिरहेका खप्परे फर्सीको अलवा बारीमा आधुनिक तरिकाले लगाएका तरकारीका बोटहरु, थाङ्ग्रा र टनेलहरु, निर्माणधिन भवनहरुले हामीलाई भनिरहेको थियो कि यहाँ पनि अब विकासको पाईला परेको छ यो एकैचोटी गति भरेर कुद्नेछ ।

साँच्चै त्यही रहेछ लिम्चुङबुङ अर्थात् नेपालमा रहेको एउटै सुनकोशी नामको चार स्थानीय तह मध्यको हिजोको सुनकोशी । आज किराँती पहिचान झल्काएर लिम्चुङबुङ (अर्थात् बास्नादार फूलको मुना ) नामले चम्किन कोशीस गरिरहेको छ । कुद्नु अगाडी धेरै कुद्ने घोडाले खुट्टा खोच्याङ गरेर उभिन्छ भने झैं त्यो नमिलेको भूगोल, हेपिएको जमिन । त्यहाँ उदयपुरको कर्णालीको रुपमा चित्रित गरेको लिम्चुङबुङ विकासको प्यासी बनेर, भोको बनेर मनभरी विकास र समृद्धीको हुटहुटी नै भरेर वायुपंखी घोडा झैं उभिएको छ ।

जब मेरो नजरमा नगरे, बाराहा, गाइखुर, ताम्लिछा र मडिरे परे तब बिके अप्रेशनको क्रममा २०६१ साल चैत्र ७ गते भिषण भिडन्त भएको लडाई चित्र एकैचोटी घुम्न थाले । रोलकाल गरेको, टोली दौडाएको, बन्दि खोसेको, तत्कालिन शाही सेना भागेको, गोलीकठ्ठा र एलएमजी कब्जा गरेको अनि घाईते सहिद पछि रेन्जर टोलीसँगको भिडन्तले तितरबितर अवस्थाको कहाली लाग्दो क्षणहरु । अनि त्यो भन्दा अगाडी चिसापानी भिडन्त, नेप्टे भन्ज्याङको भिडन्त एकपछि अर्को प्रतिस्पर्दा गर्दै मगजमा गुजुल्टिन थाले ।

मैले सबिस्तार सहयात्रीहरुलाई बताउने कोशीस गरेँ छोटकरीमा । त्यही क्रममा गाऊपालिकाको नयाँ भवन पुग्यौं । सोध्दै खोज्दै हामी हाल सञ्चालित गाउँपालिका पुग्यौं । अरु पाहुनाका साथ हुनुहुन्थ्यो अध्यक्ष मेजर कुमार राई । ससुराली आइपुगे झैं गरेर हौउवा ढोग बिसाए अध्यक्ष ज्युले । मलाई अलि असहज लागे पनि अघि नै बिताई सकेका थिए, मानौँ म त्यहाँ माक्छाको रुपमा पुगेको झैं गरेर ।

सयपत्री फूलको न्यानो स्वागत र अरु पाहुनाहरु सँग चिनजान गराउनु भयो । भोलिको कार्यक्रमको लागि नै उपस्थित उहाँहरुलाई व्यबस्थापनको आदेश दिएर पुरै समय हामीलाई दिनु भयो । त्यसैक्रम हामीले परिचय साट्यौं । सँगसँगै कोशेली प्रदान गर्‍यौं । म सँग भएका आफ्नै कृतिहरु रणमैदानबाट (कविता संग्रह), मेरो माटो (कविता संग्रह), सागिर्दा भित्रबाट (कविता संग्रह) र नलेखिएका गाथगाहरु (संस्मरण संग्रह) ।

हामीलाई कार्यकक्षमा लगेर लिम्चुङबुङको पृष्ठभूमी पेश गरे । तातो चियाको सुर्को सँगै । दिमाग नै धन हो भन्ने मान्यता राखेका अध्यक्ष मेजरले बिसं.२०५० सालमा आफुले बिजुली बत्ति र मोटर गाडी देखेको बेला देखिको उद्धेलना सुनाउँदै देशबिदेश डुलेर आएपछि आफ्नो जे छ त्यही बेचेर धनी हुनुपर्छ र सबैको हेलामा परेको ठाऊलाई हामी आफैले बनाउनु पर्छ भन्ने सपना, उद्धेश्य र लक्ष्य राखेर आफू सामाजिक सेवामा लागेको कुरा बताए । जिरोलाई हिरो zero to hero र त्यो पनि एउटै पुस्तामा गर्ने महाअभियान आफुले घोषणा गर्न लागेको कुरा बताए । पञ्चायत कालका नेता कटक बहादुर बस्नेत र चन्द्र बहादुर बस्नेतहरु सहर छिरे । पढे लखेका हामी सबै सहर छिर्‍यौं अनि गाऊको विकास कसले गर्छ ? प्रश्न आफैलाई थिए । संघीय व्यवस्था आएपछि हामीले नै पनि यो समाजको बिकास गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ आफु लागि परेको कुरा उत्सुक्तापूर्वक सुनाए ।

पाँच वटा वडा भएको आफ्नो गाउँपालिका दुर्गम भएर पनि माओवादी नेताहरुसँगको सम्बन्धले आफुले केही ठुला परियोजनाहरु पनि कार्यन्वयनमा ल्याउन सकेकोमा खुशी व्यक्त गर्दै थिए । बेला बेला यस्तो लाग्थ्यो उहाँलाई माओवादीको तीन महिने अभियान घरघरमा माओवादी, जनजनमा माओवादी भन्दा मेरो समृद्धीको अभियान महत्वपुर्ण लागेकोले केही नमिलेको जस्तो दरार पैदा भएको जस्तो । म जसरी पनि गर्ने सम्भावना छ भनेर समर्पित भएर लागेको मान्छे समस्या र खतराहरुसँगको लडाईमा आफ्नै प्रकारको मजा हुँदोरहेछ जनता साथमा भएपछि । बस मैले जनतामा आशा जगाउन सकेको छु यसलाई निराशामा बदलिन दिन्नु हुन्न भनेर दिलोज्यानले लागेको छु । मान्ेले मलाई के भनेन र के गरेन नकरात्मक ढङ्गले तर मैले सचेत गरेको अर्थमा ग्रहण गरेको छु ।

गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी २ अर्बको कोशीको पानी लिफ्ट गर्ने, २३ करोडको पुल, ५० करोडको बिजुलीको काम ९५% सकिसकेकोमा खुशी व्यक्त गर्दै थिए । हामी आफै मिलेर गाऊको बिकास गर्न सकिन्छ भन्ने आत्मविश्वास पस्किदै थिए धाराप्रवाह । हामी सुन्दै थियौं ।

प्रधानमन्त्री कृषि परियोजना मार्फत उत्पादनबाट आम्दानी बढाउने र गाउँले कृषकलाई धनी बनाउने आर्थिक क्रान्तिको थालनी गरेको बताए । कल्चर, नेचर र एग्रिकल्चर हामी पहूनालाई बेच्छौं अर्थात् आँखालाई बेच्छौं । यी सबै चीज हामी सँग छ तर हामीसँग सडक छैन सहरलाई जोड्ने । यो हाम्रो अभियान अवसर र रोजगारी खोजीको अभियान हो । आर्थिक समृद्धिको अभियान हो । अब हामी ३४ किलोमिटर सडक (मुकुर्ची देखि भ्यू टप) को लागि अनुरोध र दबाव समूह बनाएर लाग्छौं । मुकुर्ची देखि लिम्चुङबुङ गाउँपालिकाको केन्द्रसम्म ४३ किमि. र गाईघाटबाट लिम्चुङबुङ गाऊपालकिाको केन्द्र सम्म ६२ किमि. सडक हामीले जसरी पनि बनाउनै पर्छ । विगतमा DPR र IEE सबै तयारी भएर ४९ करोड ९९ लाख बजेटको टेन्डर लगाउने बेलामा आर्थिक मन्दिको कारण स्रोत अभाव देखाएर सहमति दिएको बजेट कटौती गरेर सहमति खारेज गर्‍यो । यहाँ बन्दै गरेको एभरेष्ट भ्यू टपबाट ८ हजार मिटर माथिका ६ वटा हिमाल देख्न सकिन्छ । यहाँको प्राकृतिक वरदान नै यहाँको सम्पति हो । टुरिज्म उद्योग हो । यहाँ लालीगुराँस पाईन्छ । जनता जागरुक छन् । मिडीया छन् । यहाँ घलेगाऊ, सिदुवा र बन्दिपुर भन्दा केही कमि छैन । यहाँ अन्त भन्दा नयाँ भनेको Ultralight Flight मार्फत एकै पटक हामी हिमाल र मधेस फाँटलाई जोड्न सक्छौं ।

हामीलाई मंसिरको त्यो चिसो सिरेटो पचाउन गाह्रो परिहेको थियो । त्यहाँ पनि बाँसबोटेका अनिल चाम्लिङ सर्वहारा र भावना शेर्पालाई भेट्यौं । भावनाले गाउँपालिका कार्यालय छेउमा होटेल गर्नु भएको रहेछ । गाऊपालिकाले व्यबस्थापन गरेको होटेलमा खाना खाइवरी सुत्न तिर लाग्यौं, बाँकी सबै काम भोलिको लागि थाँती राखेर ।

चिसो थियो तैपनि समयमा नउठे सनराईज देख्न पाईदैनथ्यो । गाऊपालिका केन्द्रबाट लगभग ९ कि.मि.दुरीको बाटो जानु पर्ने भएकोले बिहान छिट्टै हल्ला गर्दा गर्दा टोली ६ बजे तिर बल्ल तयार भयो तैपनि सनराईज चाहिँ हेर्न भ्यायौं । निर्माणाधिन एभरेष्ट भ्यू टपबाट हिमश्रंखला नियाल्यौं । आहा ! कति रमाइला देखिन्थे ती वरिपरिका दृष्य । हिमालको टुप्पोमा घामको पारिलो किरण टेक्दै गर्दा सूनले बेरिएको स्तम्भ जस्तै लाग्थ्यो । हेरिरहूँ जस्तो । कस्तो लोभलाग्दो । त्यो मनमोहक दृष्यहरु क्षितिज थामेर आकाश टाँगेर बर्षौं देखि हाम्रो पर्खाईमा बसेको जस्तो । प्रेमी प्रेमिका मिलनमा मुस्कान विस्फार गरे जस्तै चम्किरहेका थिए ती हिमश्रृंखला । साँच्चै हामीलाई पर्खेर बसे जस्तो लाग्थ्यो जब हिमश्रंखलासँग आँखा जोडियो । जब हाम्रो पाईला एभरेष्ट भ्यू टपमा पर्‍यो । त्यो आभाषको कोशेली लिएर ठिङ्ग उभिएर बसिरहेको छ त्यो अजङ्गको एभरेष्ट भ्यू टप ।
हामी त्यहाँबाट फर्केर गाईखुर तिर लाग्यौं । त्यही चैत्र ७ गते जहाँ हाम्रो तत्कालिन शाही सेनासँग भिषण भिडन्त भएको थियो । त्यो समयको आवश्यक्ता थियो हामीले आ—आफ्नो जिम्मेवारी पुरा गर्‍यौं । लाग्थ्यो सपनाको जनयुद्ध, विपनाको युद्ध, सपनाको यात्रा विपनाको गन्तव्य जस्तै । यो अवसरका लागि उमेश राईलाई धन्यवाद दिनै पर्छ ।

हिजो लडाई लडेको ठाऊ, कन्ला, बारी, रुखहरु र घरहरु लगभग उस्तै थिए, जसले गर्दा फेरी लडाईको मोर्चामा कमान्ड सम्हाल्दै छु जस्तो लाग्थ्यो । अरु यस्तै लडाई भएका ठाऊहरु पुगेर अनुभूति माथि अनुभूति सँगाल्न मन जागृत गराई दियो । यति सम्म कि रोल्पाबाट सिन्धुली सम्म पैदल हिंडेर आउँदा गुल्मीबाट पाल्पा सँग सम्पर्क जोड्न नसकी १५ दिन गुल्मीमा नै बस्दा पनि १ महिना ४ दिनमा हामी मरिन खोला (महेन्द्र झ्याँडी) आईपुगेका थियौं । त्यो यात्रालाई इलामा देखि दार्चुलासम्म पुर्व पश्चिम पैदलले जोड्ने उत्सुकता जगाई दियो । खुल्ला उड्न खाज्ने मनलाई सम्हाल्न जरुरी थियो ।

हामी सुन्तला खाना ताम्लिछा तिर पनि झर्‍यौं । डाँडागाऊ पुग्दा बाटोमा सिमा सेन्चुरी बहिनीसँग भेट भयो । ६/७ बर्ष पहिले एक शिक्षक सँग बिहे भएर सिन्धुलीबाट त्यहाँ पुगेका रहेछन् ।

कार्यक्रमको भव्य तयारी थियो । विभिन्न वडाहरुबाट जनता आईरहेका थिए, कोही गाडीबाट । कोही पैदल । नेपाली तारा दिपक लिम्बु, फुलन्देको आमा (उमेश राई)
क्रमशः बाँकी अर्को अंकमा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.