मकवानपुर खेल महोत्सवको तयारीः मुख्यमन्त्रीले उद्घाटन गर्ने

मकवानपुरको खेल क्षेत्रको विकासको उद्देश्यसहित यही पुष ५ गतेबाट सञ्चालन हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । खेलका लागि आवश्यक संरचना निर्माण, खेल तालिका निर्माण, महोत्सव स्थलको घेराबारा, स्टल निर्माण लगायतको कार्य धमाधम भैरहेको हो ।

खेलकुद महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने भएका छन् । खेलकुद महोत्सवप्रति मकवानपुरका खेलकुद संघका पदाधिकारी एवम् खेलाडीहरु उत्साही बनेका छन् । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरु महोत्सवका लागि एकजुट भएर खटिएका छन् ।

महोत्सव आयोजना स्थल टिसिएन चौर महोत्सवको लागि सजिएको छ । खेलकुद र खेलाडीको हितको लागि आयोजना हुँदै गरेको महोत्सव सफल बनाउन सबै एकजुट रहेको उनीहरुको भनाई रहेको छ । ‘महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत तयारी सकिसकेको छ’, आयोजक संस्था मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले भने, ‘पवित्र उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवलाई सबैले सहयोग गरिरहनुभएको छ । आम जिल्लाबासीहरुलाई महोत्सवमा उपस्थितीका लागि हार्दिक अनुरोध समेत गर्दछौं ।’ महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुनेछ ।

महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ ।
ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ ।

महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.