मनहरीमा सिम्पानी युवा क्लबको आयोजनामा प्रथम मिलन धर्मराज स्मृती नकआउट फुटबल प्रतियोगिता असार २० गते बिहिबार देखि शुरु भएकोछ । क्लबले आफ्ना खेलाडी एबम क्लब सदस्य समेत रहेका मिलन मोक्तान र धर्मराज मोक्तानको स्मृतिमा फुटबल प्रतियोगिता मार्फत सम्झने प्रयास गरेको हो । उनिहरुको सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।

अत्यन्तै मिलनसार मिलन धर्मराजलाई गुमाउदा क्लबलाई अतुलनिय क्षती पुगेको भन्दै उनिहरुको सम्झनामा खेल आयोजना गरेको आयोजकले जनाएकोछ ।
मनहरी गाउँपालिका वडा नम्बर ८ बेलुवाको खेल मैदानमा आयोजित फुटबल प्रतियोगिता स्वर्गीय मिलन र धर्मराजको सम्झनामा दिप बत्ती बाली प्रतियोगिताको शुरुवात गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी एबम मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीद्वारा म्याच रेफ्रीलाई बल हस्तान्तरण गरि खेलको उद्घाट गर्नुभएको थियो ।
उद्घाटन खेलमा आयोजक समेत रहेका सिम्पानी युवा क्लबले नमुना युवा क्लबलाई गोलको बर्षानै गराएको थियो । आयोजक टिमले शून्यका बिरुद्द १२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो । आयोजक टिमको तर्फबाट जर्सी नम्बर १२ का खेलाडी राज भुसाल एक्लैले ६ गोल गरि टिमलाई फराकिलो गोल अन्तरले जित दर्ता गराए । त्यस्तै गरि जर्सी नम्बर ११ का राहुल थापा मगरको ३ गोल, जर्सी नम्बर १४ का देवा गुरुङले १ गोल र दोश्रो हाल्फमा मैदान प्रबेश गरेका जर्सी नम्बर १३ का खेलाडी सुमन ब्लोनले २ गोल गरेका थिए ।
१२ वटा फुटबल टिमको सहभागिता रहेको प्ररियोगिताको फाईनल यहि असार ३१ गते हुनेछ । प्ररियोगिताको बिजेताले नगद १ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरि उपबिजेता हुने टोलिले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै बिधागत पुरस्कारको पनि ब्यबस्था रहेको आयोजकले जानकारी दिएकोछ ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गरि गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) को बिशिष्ट आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा मनहरी गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका अध्यक्षहरु विभिन्न संघ सस्था सुरक्षा पोष्ट प्रमुख लगाएतकाको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष किरण सुबेदीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।