भदौ ४,हेटौंडा । साना किसान कृषि सहकारी संस्था लिमिटेड हेटौंडा–१८,हर्नामाडीले आज बुधबार हरितालिका तीजको अवसरमा शुभमकाना आदान–प्रदान, सहकारी शिक्षा एवं तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाको प्रमुख आतिथ्यतामा सहकारीले कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले तीज पर्वलाई भड्किलो नबाउन सबैलाई आग्रह गर्नुभयो । तीज पर्वका समय खानपानमा हुने समस्याले स्वास्थ्यमा असर गर्ने भन्दै उहाँले त्यसतर्फ ध्यान दिन पनि सहभागी महिलाहरुलाई सुझाब दिनुभयो । यहाँको कृषि क्षेत्र फस्टाउँदै गइरहेको भन्दै थपलियाले किसानहरुलाई आधुनिक कृषि सम्बन्धि तालिमको खाँचो रहेको औंल्याउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं हेटौंडा १८ नम्बर वडाका अध्यक्ष अनिल कुमार बानियाँले यस वर्षबाट बागमती प्रदेश सरकारको पहलमा यसै सहकारी मार्फत २० जना कृषकलाई भैंसी अनुदान तथा लीचि प्रवद्र्धन कार्यक्रममा सहभागी गराईने बताउनुभयो । वडामा कृषि सम्बन्धि अनुदानहरु यसै सहकारी मार्फत हुने भएकालेपनि हर्नामाडीका सबै घर परिवार सहकारीको शेयर सदस्य हुनबाट बञ्चित नहुन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका अवसरमा तीज गीत प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा तुलसा घिमिरेको टीम प्रथम, मिना उपरकोटीको टीम द्धितिय, विष्णु न्यौपानेको टीम तृतीय, राममाया नेपाल र विष्णु घिमिरेको टीम सान्त्वना भएका थिए । प्रथम हुने टीमले नगद ३ हजार, दोस्रो हुने टीमले २ हजार ५ सय, तेस्रो हुने टीमले २ हजार र सान्त्वना हुने टीमले १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । तीज गीत प्रतियोगिताको लागि निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान बागमती प्रदेश सदस्य रामप्रसाद पौडेल तथा सादुराम राउत र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान मकवानपुरका प्रवक्ता कुमार महत रहनुभएको थियो । उक्त प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए ।
सहकारीका उपाध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि मान बहादुर थापा, हर्नामाडी स्वास्थ्य चौकी प्रमुख पार्वती पौडेल,कालिका दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष सुष्मा तिमल्सिना भण्डारी, रामधुनी कालिलेक सामुदायिक वन उपभोक्ता समूहका सचिव विनिता सुनार लगायतले मन्तव्य राख्नुभएको थियो ।
वि.सं. २०६७ सालमा स्थापना भएको सहकारीमा हाल ११ सयभन्दा बढी शेयर सदस्य आवद्ध रहेका छन् भने बार्षिक २३ करोड रुपैयाँको कारोबार रहेको छ । उक्त सहकारीले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण, बीउबिजन तथा मल वितरण, पशुपालन कर्जा, तरकारी खेती, लघुउद्यम कर्जा लगानी तथा बचत संकलन गर्ने गरेको छ । यस सहकारीले समेत दुध डेरी सञ्चालन गरिरहेको छ । जसमा १ सय ६० कृषकबाट दैनिक १५ सय लिटर दुध संकलन गर्ने गरेको छ ।
सहकारीका अध्यक्ष रेखा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडा, संस्थाका सल्लाहकार चन्द्रकला ढुंगाना, विश्वनाथ ढुंगाना, लेखा संयोजक निर्मला न्यौपाने, सहकारीका व्यवस्थापक माधव प्रसाद पुडासैनी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत शेयर सदस्य महिलाहरु।को उपस्थिती रहेको थियो ।